तिलोत्तमा, फागुन ३ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको माध्यमिक विद्यालयमा सोमबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
विद्यालयको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद तथा तथा रचनात्मक प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । यस्तै शैक्षिक सत्र २०७६ मा कक्षागत र तहगत रुपमा विभिन्न स्थान हासिल गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको हो ।
विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, विद्यालयका सदस्यहरु सुरेन्द्र के.सी., भगवती पौडेल, राधा घिमिरे, गीता सुनार, शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन शिक्षक मोहन पौडयालले गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु तथा गायन प्रस्तुत गरेका थिए ।
यसअघि सोमबार नै भएको सिनियरतर्फ छात्रहरुको कबड्डी प्रतियोगितामा मकालु सदन प्रथम र सगरमाथा सदन द्वितीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रम गरेको विद्यालयले फागुन ४ गते पूर्व मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह आयोजना गरेको छ । सो अवसरमा दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन लगायतका कार्यक्रम रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।