काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले शनिवार दिउँसो विज्ञप्ति जारी गर्दै विभिन्न सन्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले आज जसपाको कार्यकारिणी समितिको बैठक नडाकिएको पनि बताएका छन् ।
‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए।