नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार रामबहादुर थापा बादलसँग कुनै पनि सहमति नभएको प्रस्ट पारेका छन् । नेपालको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।
आजको भेटमा गृहमन्त्री थापाले पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेको तर प्रधानमन्त्री नेपालले आफ्नै पहलमा अन्य दलसहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई बनाएकोले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेको नेपालको सचिवालयले जनाएको छ ।
त्यसपछि थापाले नै मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गर्ने प्रस्ताव गरेको नेपाल पक्षको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’
माधव नेपाल पक्षको मत निर्णायक
जेठ ६ गतेको राष्ट्रिय सभा चुनावका लागि एमाले एकल बहुमतमा छ । प्रदेशसभामा ५७ र स्थानीय तहमा १३३ मतदातामध्ये संस्थापन पक्षमा प्रदेशसभाका ३५ र स्थानीय तहका ८७ सांसद छन् ।
माधव नेपाल पक्षमा प्रदेशसभाका २२ र स्थानीय तहका ३८ सांसद छन् । ८ स्थानीय तहका प्रमुख उपप्रमुख तटस्थ छन् । मतदातालाई विवेक प्रयोग गर्न दिने सहमतिसँगै उनीहरुको मत निर्णायक हुने देखिएको छ ।