कम्प्युटरमा काम गर्दा भुलेर पनि नगर्नुहोस् यी ७ गल्ती

प्रकाशित मिति:

काठमाडौं । निषेधाज्ञाको समयमा अधिकांश कार्यालय बन्द छन् । कर्मचारीले घरबाटै काम गरिरहेका छन् । विद्यालयले अनलाइन क्लासमा सञ्चालन गरिरहेका छन् । सभा, समारोह र बैठक सबै भर्चुअल माध्यमबाट भइरहेको छ ।फुर्सदिला मानिस पनि ल्यापटप, स्मार्टफोनमै झम्मिरहेका छन् । यस्तो अवस्थामा ल्यापटप वा कम्प्युटरमा काम गर्दा निकै चनाखो हुनुपर्छ । जानअञ्जानमा गरेका साना(साना कमजोरीले निकै ठूलो नोक्सान पुर्‍याउन सक्छ ।

प्रायः तपाईं हामी सबैले गर्ने साना साना गल्तिहरू के के हुन् र त्यसबाट कसरी जोगिने भन्ने विषयमा आज हामी जानकारी दिन गइरहेका छौं ।

१. क्र्याक सफ्टवेयरको प्रयोग
नेपालमा धेरैजसोले विण्डोज कम्प्युटर तथा ल्यापटप प्रयोग गरिरहेका छौं । हाम्रो एउटा विशेषता भनेकै के छ भने सकेसम्म हरेक चिज निःशुल्क रुपमा प्रयोग गर्न खोज्छौं । जसका लागि अनेक उपायको खोजी गर्न समेत पछि पर्दैनौं ।इन्टरनेटमा क्र्याक सफ्टवेयर खोज्नेदेखि मोडिफाई भर्सन राख्ने वा ओरिजिनल सफ्टवेयर क्र्याक गर्ने कोशिश समेत गर्छौं । यदि तपाईंको कम्प्युटरमा एकदमै महत्वपुर्ण डेटा छन् वा भनौं तपाईं आफ्नो कम्प्युटरमा एकदमै महत्वपुर्ण जस्तै बैंकसम्बन्धी र एकदमै गोप्य राख्नुपर्ने कामहरू गर्नुहुन्छ भने कहिल्यै पनि आफ्नो कम्प्युटर तथा ल्यापटपमा कुनै पनि किसिमको क्र्याक सफ्टवेयर इन्स्टल नगर्नुहोस् ।यदि तपाईंले क्र्याक सफ्टवेयर प्रयोग गरिरहनुभएको छ भने कम्प्युटर सिस्टम स्लो भएको पक्कै पनि ख्याल गर्नुभएकै होला । यस्ता सफ्टवेयरबाट तपाईंको कम्प्युटर तथा ल्यापटपमा भाइरस प्रवेश गर्न सक्छ र ह्याकरले तपाईंका महत्वपुर्ण डाटा चोर्न सक्छ ।त्यसैले आफ्नो कम्प्युटरमा महत्वपुर्ण डाटा स्टोर गर्नुभएको छ र गोप्य राख्नुपर्ने कामहरु गरिरहनुभएको छ भने क्र्याक सफ्टवेयरबाट टाढै रहनु बेश हुनेछ ।

२.भाइरस लिंक
कम्प्युटर तथा इन्टरनेटको विषयमा त्यति धेरै जानकारी नहुने प्रयोगकर्ताले गर्ने कमजोरी हो यो । तपाईं इन्टरनेटबाट कतिपय बेला गीतहरू तथा भिडियो डाउनलोड गरिरहनुभएको हुन्छ र कहिले कुनै सफ्टवेयर डाउनलोड गर्नुहुन्छ ।यस्तोमा तपाईं भुलवश यस्ता लिङ्कहरू क्लिक गर्न पुग्नुहुन्छ जहाँ ‘तपाईंको कम्प्युटरलाई भारी मात्रामा नोक्सान गरिसकेको छ’, ‘तपाईंको कम्प्युटरमा भाइरस छ’ भन्ने जस्ता नोटिफिकेशन देख्नुहुन्छ ।ख्याल गर्नुभएको छ भने यस्तो नोटिफिकेशन कहिलेकाहिँ तपाईंको स्मार्टफोनमा पनि आएको देख्नुभएको हुनसक्छ । त्यस्ता नोटिफिकेशनसँगै त्यसलाई हटाउन भन्दै केही प्रकृया पनि सुझाइएको हुन्छ । यस्ता स्टेपहरू तपाईं गल्ति गरेर पनि फलो नगर्नुस् ।सुरुवातमा कम्प्युटर सिकिरहेका वा कम्प्युटरको विषयमा त्यति ज्ञान नभएका प्रयोगकर्ताहरू यस्तोबेलामा झुक्किरहेका हुन्छन् र गल्ति गर्न पुग्छन्। जसले गर्दा कम्युटरमा भाइरस आउन सक्छ । यस्ता नोटिफिकेशन आउँदा नआत्तिकन ट्याब बन्द गरिदिन सक्नुहुन्छ ।

३.सी ड्राइभको स्पेस
सुरुमा तपाईलाई थाहा नहुन सक्छ । जब तपाई कम्प्युटरमा डाटा स्टोर गर्दै जानुहुन्छ तब मात्र तपाईलाई आफूले गरेको गल्ति महशुस हुन थाल्छ । कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, हार्ड डिस्क त पार्टिशन गर्छन् । तर सी ड्राइभलाई पर्याप्त स्पेस भने दिँदैनन् । जसले विस्तारै सी ड्राइभ फूल हुने समस्या देखिन थाल्छ । त्यसैले कम्तिमा एक सय देखि एक सय ५० जीबीसम्मको स्पेस सी ड्राइभका लागि छुट्याउनु बुद्धिमत्तापुर्ण हुन्छ ।

४.थर्डपाटी वेबसाइटबाट सफ्टवेयर डाउनलोड
कुनै सफ्टवेयर, फाइल वा जिप फाइल इन्टरनेटबाट डाउनलोड गर्दै हुनुहुन्छ भने सकेसम्म अफिसियल वेबसाइट वा भरपर्दो वेबसाइटबाटै डाउनलोड गर्नुहोस् । थर्डपार्टी वेबसाइटबाट डाउनलोड गर्दा कम्प्युटर सिस्टममा भाइरस प्रवेश गर्ने सम्भावना उच्च हुन्छ ।

५.वेबक्यामको प्रयोग
कम्प्युटर तथा ल्यापटपको वेबक्याम अर्थात क्यामेरालाई आफ्नो विस्तारातर्फ फर्काएर नराख्नुस् । धेरैजसोको कम्प्युटर तथा ल्यापटप टेबलमा अन राखिएको हुन्छ र त्यसको वेबक्याम ओच्छ्यान तर्फ फर्किएको हुन्छ । विवाहित व्यक्तिहरूले यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् ।किनभने कतिपय समयमा ह्याकरले तपाईको कम्प्युटर तथा ल्यापटपको वेबक्याममा पहुँच बनाइरहेका हुनसक्छन् र सबै गतिविधि नियालिरहेको वा रेकर्ड भइरहेको हुनसक्छ । त्यस्तो अवस्थामा भिडियो इन्टरनेटमा लिक गरिदिने वा ब्ल्याकमेलमा पर्ने सम्भावना रहन्छ ।सामान्यतया प्रयोगमा नआउने भएकाले वेबक्याममा टेप लगाएर राख्न सक्नुहुन्छ । ल्यापटप बन्द गरेर राख्ने वा वेबक्यामलाई विपरित दिशामा घुमाएर राखेर समेत तपाईं यस किसिमको जोखिमबाट बच्न सक्नुहुन्छ ।

६.डेक्सटपमा महत्वपुर्ण डाटा सेभ
तपाईं हामी कतिपयले आफ्ना महत्पुर्ण फाइलहरु डेक्टपमै सो गरेर राखिरहेका हुन्छौँ । अबदेखि यस्तो गल्ति कहिल्यै पनि नगर्नुस् किन कि तपाईंको अपरेटिङ सिस्टम जुनसुकै बखत क्रप्ट तथा क्र्याश हुनसक्छ र नयाँ अपरेटिङ सिस्टम राख्नुपर्ने हुन्छ ।यस्तो अवस्थामा तपाईंको डेक्सटपमा भएका सबै डाटाहरु सदाका लागि उड्नपुग्छन् । जसले तपाईंलाई ठूलो नोक्सानी पुग्न सक्छ । त्यसैले महत्वपुर्ण डाटाहरू अरु ड्राइभमा राख्नेगर्नुस् ।

७.प्रयोगमा नआउने सफ्टवेयर
सुरुमा कम्प्युटर तथा ल्यापटप लिँदा एकदमै फास्ट र स्मुथ रुपमा चलिरहेको हुन्छ । तर एक दुई महिना पछि विस्तारै स्लो हुन थाल्छ । यसो हुनुको कारण तपाईंले कतिपय सफ्टवेर डाउनलोड गरिसक्नुभएको हुन्छ तर प्रयोग भने पटक्कै गरिएको हुँदैन ।डिलिट पनि भएको हुँदैन । सिस्टममा सफ्टवेयर इन्स्टल गर्ने तर प्रयोगमा नआउने भए पनि डिलिट नगर्ने प्रबृत्ति एउटा ठूलो गल्ति हो । तिनैले तपाईंको कम्प्युटर तथा ल्यापटप स्लो गरिरहेका हुन्छन् । त्यसैले बेलाबेलामा कन्ट्रोल प्यानलमा गएर यस्ता प्रयोग नहुने सफ्टवेयर डिलिट गर्ने गर्नुस् ।