अनेरास्ववियुले हस्तान्तरण गर्यो एम्बुलेन्स र सब वाहन

प्रकाशित मिति:

अनेरास्ववियु क्षेत्र नं१ रूपन्देहीले कोरोना महामारी नियन्त्रण गर्न सजिलो होस् भन्ने उद्धेश्यका साथ बिरामी बोक्न (अस्थायी एम्बुलेन्स) र शब बोक्ने प्रयोजनका लागि २ वटा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना महामारी भरका लागि निशुल्क प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छ । देवदह नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल सित्तलनगर परिसरमा आयोजित एक कार्यक्रमका बिच ती गाडीहरू हस्तान्तरण गरिएको हो ।

गाडीहरू ग्रहण गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले युवा विद्यार्थीलाई धन्यवाद सहित ‘सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त गर्न सकिने कुरा उल्लेख गरेका छन । सबै मिलेर यो महामारीविरुद्ध लागौं र अहिले कसरी हुन्छ मान्छे बचाउनेतिर लागौं ’ भन्दै मन्त्री श्रेष्ठले अनुशासनमा रही स्वास्थ्य मापदण्ड अपनाएर सबैले एक अर्कासँग सहकार्य गरेर सकारात्मक चिन्तनका साथ अगाडी बढेमा महामारीविरुद्धको युद्धमा छिट्टै जित हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे । मन्त्री श्रेष्ठले समाजका अगुवाले सामाजिक उत्तरदायित्व बहन गर्दै सुरक्षित रहेर जनतालाई सुसूचित बनाउनुपर्ने र मनोबैज्ञानिक रूपमा बिक्षिप्त भएका जनतालाई मनोपरामर्श दिनुपर्नेमा समेत जोड दिए । हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभासद डा। कृष्ण न्यौपाने, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा। बिक्रम ज्ञवाली, मन्त्रीका स्वकीय सचिव माधव सापकोटा लगायत अनेरास्ववियु तथा युवा संघमा आवद्ध युवा विद्यार्थीहरूको सहभागी रहेको कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका थिए ।