देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं । विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।सोमबार सांसदहरुसहित सर्वोच्च पुगेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुले १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेका हुन् ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।
रिटमा भनिएको छ, ‘प्रधानमन्त्री तथा राष्ट्रपतिबाट भए गरेका काम कारवाहीहरुबाट कानूनको प्रत्यक्ष त्रुटी हुन पुगेको स्पष्ट छ । हामी निवेदकहरुले समर्थन गरेको प्रतिनिधि सभा सदस्य निवेदकहरु मध्येका शेर वहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबै दावी निवेदक शेर बहादुर देउवाको दाबी नपुग्ने भनी मिति २०७८–०२–०७ मा गरेको राष्ट्रपतिको निर्णय र प्रधानमन्त्री केपी शमी ओलीको नेतृत्वको मन्त्रीपरिषद्को मिति २०७४–०२–०८ को सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी २०७८–०७–२६ मा २०७८-०८-०३ गते प्रतिनिधि सभाको निर्वाचन तोक्ने गरी राष्ट्रपतिले गरेको निर्णय लगायत सम्पूर्ण कामकारवाहीलाई असवैधानिक र गैरकानुनी घोषित गरी उक्त निर्णयहरुलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी असवैधानिक रुपमा विघटन भएको प्रतिनिधि सभालाई पुनःस्थापना गरी प्रतिनिधि सभाको सदस्यको हैसियतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तको लागि म निवेदक शेरवहादुर देउवाले राष्ट्रपति समक्ष पेश गरेको मिति २०७८–०२–०७ गतेको विश्वासको आधारमा निवेदक मध्येका शेर वहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु ।’