‘…त्यसपछि विष्णु पौडेलजीको फोन आएन’

प्रकाशित मिति:

काठमाडौं । एमाले नेता भीम रावलले आफ्ना कारणले एमाले एकता वार्ता भंग नभएको बताएका छन् ।  ओली निकट एक नेताले रावलका कारण एमाले एकता भंग भएको बताएपछि त्यसको प्रतिवाद गर्दै नेता रावलले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु र विष्णु पौडेलबीच भएको वार्ताबारे खुलाएका छन् ।

रावलले ट्विट गर्दै भनेका छन्, ‘एउटा अनलाइन समाचारमा केही व्यक्तिहरूले पार्टी एकताका लागि जेठ ९ गते सबै काम गरिसकेको तर भीम रावल जेठ १० गते बालुवाटर नगएकोले वार्ता भंग भएको भन्ने कुरा झूटो हो। मलाई विष्णु पौडेलजीले फोन गर्दा यसो भनेको थिएँ–म एकताको पक्षमा छु । एकताका लागि पार्टी अध्यक्ष केपी ओलीजीबाट आजै यी कुरा होउन्स्  पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ गते पछि २८ गतेको निर्णय लगायतका सबै पार्टी निर्णयहरू बदर गर्ने, दुई दिनभित्र स्थायी कमिटीको बैठक गर्ने, स्थायी कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यता लगायतका संगठनात्मक विषयमा सिफारिस प्रतिवेदन पेश गर्न कार्यदल बनाउने र प्रतिनिधि सभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्ने । यसबारे प्रमसँग सोधेर जवाफ दिने भनिएकोमा त्यसपछि विष्णुजीको फोन आएन, यी कुराहरू अरू कसैले गराए मेरो पूर्ण समर्थन हने अरू केही नेता साथीहरुलाई पनि भनेको थिएँ । तर बेलुकी म लगायत ११ जनालाई पार्टी सदस्यबाट निष्काशसत गरिएको समाचार आयो । यही हो सत्य कुरा ।’