लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपचुनाव : मतदाता नामावलीमा जसपाका ४ सांसदकाे नाम छैन

प्रकाशित मिति:

दाङ – यही जेठ १७ गते लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसद मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम छैन ।

निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन ।सर्वोच्चले गएको जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् ।

तर प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।प्रदेश सभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । लुम्बिनीमा दुई सय ९६ मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ७९ र पालिकाका मेयर–उपमेयर दुई सय १७ जनाले मतदान गर्ने छन् ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा त्यो पद रिक्त भएको थियो । चुनावमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव समूहका जसपा र जनमोर्चाको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उमेदवार बन्नुभएको छ ।जेठ १७ गते दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । दुई वटा मतदान केन्द्रमध्ये एउटा कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ ।