काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाए ।
युनियनको ३१ औं स्थापना दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा वरीष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्व प्रकाश शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, युनियनका महासचिब अजयबाबु शिबाकोटी लगायत करिव ८ सय जनाको सहभागिता रहेको थियो ।