काठमाडौं । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।
बैठकपछि पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।
‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।