काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
“अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ”, उनले भनिन् । फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।
फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको बताए । हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उनको भनाइ थियो ।
कार्यक्रममा फाउण्डेशन अमेरिका शाखाका उपाध्यक्ष सुवर्ण लामा, फाउण्डेशन युवा तथा खेलकूद विभागका संयोजक गुणराज प्याकुरेल,सबलपोष्ट अनलाईन पत्रीकाका प्रधानसम्पादक अमृत पाण्डेय , फाउण्डेशनका केन्द्रीय सदस्य एलिजा गुरुङ, कान्तिपुर मिडिया गुप्रका पत्रकार सञ्जु पौडेल लगायतले कोरोना खोप पर्याप्त मात्रामा जनतामाझ पु-याउन सकेमात्र महामारी रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।