रामचन्द्र र शेखरबीच वार्ताः सभापतिमा सघाउन प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा।शेखर कोइरालाबीच महाधिवेशनका विषयमा रणनीतिक वार्ता भएको छ ।नेता पौडेललाई भेट्न सोमबार विहान उनको बोहोराटारस्थित निवासमा पुगेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेलसमक्ष प्रस्ताव गरे ।‘डा.साबले सभापतिमा उठ्छु सघाउनुस् भन्नुभयो, वरिष्ठ नेताले पनि आफू स्वाभाविक दाबेदार रहेको बताउनुभयो, उहाँहरुबीच धेरै समय क्रियाशील सदस्यताको विषयमा कुराकानी भयो,’ स्रोतले हाम्राकुरासँग भन्यो ।

नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा प्वालबाट छिराइएको भन्दै क्रियाशील सदस्यतालाई गम्भीर रुपमा केलाएर हेर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘क्रियाशील सदस्यताका विषयमा धेरै कुराकानी भए, सदस्यता छानविनमा गम्भीर भएर हेरिनु पर्छ भन्ने विषयमा उहाँहरुबीच सकरात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो ।

शुक्रबार पौडेल समूहले वसुन्धारास्थित दियालो फुडल्याण्डमा गरेको आफू निकट नेताहरुको छलफलमासमेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो ।सो छलफलमा पौडेल समूहमा रहेका आठ जना नेताहरुले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि तयार रहेको बताएका थिए । सो क्रममा कोइरालाले आफू पार्टी नेतृत्वका लागि गत महाधिवेशनपछि नै घोषणा गरेर अघि बढेकाले पछि हट्ने अवस्था नरहेको बताएका थिए ।