नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र लामो समयदेखिको कटुता र द्वन्द्व संवादबाट न्यूनीकरण भइरहेकोले पार्टी एकता बचाउन सकिने बताएका छन् । तर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागि नहुने उनले बताए ।
बिहीवार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकपछि लोकान्तरसँग कुरा गर्दै सचिव विष्टले सहमति जुट्न बाँकी विषयमा आपसी समझदारीमा टुंगो लगाउनु पर्ने बताएका हुन् । माधव नेपाल समूहका प्रभावशाली नेता विष्ट संस्थापन पक्षका नेताहरुसँग सहमतिका लागि भइरहेका वार्तामा सहभागि भइरहेका छन् ।‘पार्टी भित्रको लामो समय देखिको कटुता र द्वन्द्व संवादबाट न्युनिकरण गरिएको छ । सहमति हुन बाँकी कुरा पनि संवादबाट टुंगोमा पुर्याउछौँ,’ विष्टले लोकान्तरसँग भने, ‘पार्टीमा देखिएका समस्यालाई हामी करिव करिव सहमति नजिक पुगेका छौ । समग्र विषयमा सहमति गरेर अगाडि बढ्नु पर्छ ।’
नेपाल पक्षको स्थायी कमिटी बैठकले विधानमा नभएको महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बोलाउने अधिकार नभएको निश्कर्ष निकालेको थियो । नवौँ महाधिवेशनले निर्वाचित गरेको स्थायी कमिटीको बैठक बोलाएर केन्द्रीय कमिटीको बैठक राख्नु पर्ने नेपाल समूहको निश्कर्ष छ ।‘हामी पार्टी एकतालाई प्राथमिकता दिने निष्कर्षमै छौं, तर नवौँ महाधिवेशन विपरित महाधिवेशन आयोजक कमिटीको नाममा भएका निर्णय एकताको लागि बाधक छन्’ विष्टले भने । यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्चाएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो ।बुधवार बसेको महाधिवेशन आयोजक कमिटी बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी व्युताउँदै भोलि शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । संस्थापन पक्षले भोलिको बैठक नरोकिने बताएको छ ।