एमालेको विवाद टुंगोमा पुग्न लागेको नेताहरुको दाबी, माधव पक्ष भन्छ – अविश्वासको खाडल कम भयो
काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदल पुनः सक्रिय भएयता तीनवटा बैठक बसेको छ । अब विवाद समाधानउन्मुख पुगेको नेताहरुले बताएका छन् ।आज बेलुकीसम्म छलफल गरेर भोलि निष्कर्षमा पुग्ने प्रयत्नमा रहेको अध्यक्ष केपी केपी शर्मा ओलीका तर्फबाट कार्यदलको संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।कार्यदलका सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने उनले जानकारी दिए । आवश्यक परे दुई नेताहरुकैबीच वार्ता पनि हुन सक्ने नेम्वाङको भनाइ छ ।
“जे जति तयारीहरु भएका छन्, ती तयारी आज दिनभरि आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुगेका छौँ । हामी बस्यौँ, छलफल गर्यौँ, भएका तयारीहरु सुन्यौँ,” उनले सञ्चारकमीसँग भने, “आज साँझसम्ममा ती सबै काम भइसक्छन् । पार्टी अध्यक्षदेखि लिएर नेता माधवकुमार नेपालसँग संवाद गर्छौैँ । त्यस क्रममा आवश्यकता पर्दा भेट्न पनि सक्नुहुन्छ । भोलि फेरि बैठक बस्छौँ ।”त्यस्तै, नेता नेपालका तर्फबाट कार्यदलको सदस्य रहेका नेता गोकर्ण विष्टले पनि समाधान खोज्ने क्रममा झन्डै–झन्डै निष्कर्षमा पुग्न खोजिएको बताए ।
“अदालतको फैसला मुताविक पार्टी जेठ २ मा फर्किसकेपछि पार्टी र जनसंगठनका सबै कमिटीलाई त्यस अवस्थामा फर्काएर क्रियाशील बनाउने, नेकपा एमालेको केन्द्रीय कमिटीको सन्दर्भमा जे विवाद थियो, त्यस सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा माओवादीका तर्फबाट नेकपा एमालेमा एकताको सन्दर्भमा रहनुभएको साथीहरुको व्यवस्थापन गर्ने विषय, प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको समाधान खोज्ने गरी हामीले जुन भाषमा सहमति खोज्नुपर्थ्यो, त्यसमा नजिक आइसकेका छौँ,” छलफलका विषयबारे उनले भने ।एकार्काविरुद्धको अविश्वासको खाडल कम भएर विश्वासको वातावरण बनेको उनले बताए । उनले विवाद मिल्ने अवस्थामा आइपुगेको बताए । तर, विवाद समाधानको दिन तोक्न चाहेनन् ।