टोपबहादुर रायमाझीले भने माओवादी केन्द्र कमजोर बन्नुको कारण प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं, असार २६ : एमाले नेता टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाएका छन्। माओवादी केन्द्र त्यागेर एमालेमा गरेका उनले आफूहरूले पूर्वपार्टीमा रहुन्जेल प्रचण्डको कार्यशैलीको विरोध गर्दै आएको पनि बताए।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले ३३ वर्षयता कुनै विधि र प्रक्रियाबिना नै प्रचण्डले स्वघोषित रूपमा नेतृत्व गर्दै आएको बताए। उनले २०६९ सालमा प्रचण्डले नाम मात्रको पार्टी महाधिवेशन गरेको आरोप लगाए।उनले गएको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग नमिलेको भए माओवादी केन्द्र कतिऔँ पार्टी हुन्थ्यो भनेर भन्नै नसकिने अवस्था आउने बताए।

‘कुनै विचार, कुनै विधिविना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ,’ उनले भने, ‘अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरङ्कुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो।’प्रचण्डको कार्यशैली र चिन्तन ठीक नभएकाले पार्टी तुहिँदैतुहिँदै गएको र त्यसको जिम्मेवारी उनैले लिनुपर्ने नेता रायमाझीको भनाइ थियो। माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाविपरीत भएको दाबी उनले गरे।