एमाले संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद नजाने माधव नेपालको दावी

प्रकाशित मिति:

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा एमालेको माधव नेपाल पक्ष सहभागी नहुने भएको छ । पार्टीका शिर्ष नेताहरुका बीचमा चर्को विवाद रहेकाले विवाद समाधान नहुँदा सम्म बैठकमा सहभागी हुन नसकिने नेपाल पक्षका सांसद विरोध खतिवडाले नेपाली रेडियो नेटवर्कलाइ जानकारी दिनुभयो ।

उहाँले आज ओलीले बोलाएको संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद सहभागी नहुने दावी पनि गर्नुभयो । विगतमा प्रधानमन्त्रीका रुपमा ओलीले धेरैलाई विभिन्न दवाव र प्रभावमा पारेपनि अव धेरै नेता कार्यकर्ता त्यसबाट मुक्त हुने उहाँले बताउनुभयो । नेता खतिवडाले जुम्राले छाडे झै अव धेरैले ओलीलाई छाड्ने र विस्तारै एक्लीने दावी पनि गर्नुभयो । स्थायी समिति र संसदीय दलको दुवै बैठकमा एकलौटी एजेण्डा पेस गर्ने र निर्णय गरेको घोषणा गराउने भएकाले त्यस्तै बैठकमा जानुको औचित्य नहुने उहाँको भनाई छ । अध्यक्ष ओलीले बैठकमा सहभागी हुने वातावरण आफैले भाँडेको, तुच्छ गालीगलौज गरेको र दुव्यवहार गरेकाले पनि नेपाल पक्ष सहभागी हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

ओलीको यस्तै बानी व्यवहारका कारण अहिले शिखरबाट पातालमा पुगिसकेको नेता खतिवडाले बताउनुभयो । ओलीको गालीगलौज, आरोप र आक्रोसलाई उहाँले शिखरबाट पातालमा झरेपछिको विक्षिप्त र बर्वराहतको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले अति गरेकाले आफुहरु ओलीमुक्त एमाले बनाउन चाहेको उहाँको भनाई ।नेता खतिवडाले संसद पुनस्र्थापनाका लागि रिट हाल्दा नै संसदलाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने माग राखिएकाले संसद जोगाउनका लागि गर्नुपर्ने सवै काम गरिने जानकारी दिनुभयो । तर एमालेकै ओली पक्ष भने सरकारको विरुद्ध कसरी प्रस्तुत हुने बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा अधिकांश सांसद सहभागी हुने दावी गर्नुभयो ।