काठमाडौं, साउन १ : नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन पुनः सर्ने भएको छ । तल्लो तहको अधिवेशन सरेपनि केन्द्रीय महाधिवेशन भने सर्ने छैन् । बालुवाटारमा आज बसेको काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले केन्द्रीय महाधिवेशन नसर्नेगरी तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको हो । तर तल्लो अधिवेशन कति समय सार्ने भन्ने बिषयमा भने टुंगो लागिसकेको छैन् । काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।
बैठकमा पार्टीको निर्वाचन निर्देशिका, अरु पार्टीबाट आएकाहरुको समायोजन र क्रियाशील सदस्यताबारे छलफल भएको छ । यस्तै, निर्वाचन निर्देशनलाई अन्तिम रुप दिने जिम्मेवारी सहमहामन्त्री डा। प्रकाशशरण महत र नेता डा। मिनेन्द्र रिजाललाई दिइएको छ ।
काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्ने भनी तोकिएको छ ।