प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतले आफ्नो क्षेत्राधिकार मिचेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाएको छ । एमालेले संविधानको धारा ७६ (५) को व्याख्या समेत दलीय प्रणाली भत्काउने गरी आएको दाबी गरेको छ ।प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको आरोप लगाएका हुन् ।
‘हिजो २०६१ सालमा राजाले प्रधानमन्त्री नियुक्त गर्दा श्री ५ बाट न्याय भयो भन्नुभएको थियो । अहिले सर्वोच्चका ५ जना श्रीमान्बाट न्याय पाउनु भएको छ । पहिलो श्री ५ बाट, अहिले श्रीमान् ५ बाट’ ज्ञवालीले भने ।
ज्ञवालीले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तको सर्वोच्चबाट गलत व्याख्या भएको आरोप लगाए । ‘रेफ्रीले आफैं गोल हान्दिनुभयो, विजेता घोषणा गरिदिनुभएको छ । हामी सबै गाउँघरबाट आएका हौं, ओदानको एउटा खुट्टा भाँचियो भने अगेनाका कसौंडी आगोमा गएर पाक्न लागेको भात खेर जानेछ,’ ज्ञवालीले भने ।