स्याङ्जामा १० दिने निषेधाज्ञा थपियो

प्रकाशित मिति:

स्याङ्जा : शुक्रबार मध्यरातदेखि लागु हुनेगरी स्याङ्जामा १० दिने निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। थपिएसँगै साउन ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा कायम हुने भएको हो।देशभरसँगै स्याङजामा पनि कोरोना संक्रमण दर बढिरहेको जनाउँदै साउन मसान्तसम्म निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वरा जारी आदेशमा उल्लेख छ। प्रजिअ नेपालका अनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३०ले दिएको अधिकार प्रयोगगरी जिल्लाभर निषेधाज्ञा गरिएको हो।

शुक्रबार मध्यरातबाट लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा थप भएको छ। यसअघि जारी निषेधाज्ञा आज मध्यरातबाटै सकिदैछ। स्याङजामा वैशाख २१ गतेदेखि पटक पटक थप गर्दै निषेधाज्ञा जारी छ।निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य काम नगर्न सूचित गरेको छ। स्वास्थ्य संस्थाका लगायत औषधि पसल चौबीसै घण्टा सञ्चालन गर्न पाइने छ। अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन प्रशासनको अनुरोध छ। निस्कनै परेमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ।निषेधाज्ञामा सभा, समारोह, गोष्ठी, सेमिनार, नाँचघर, सिनेमा, होटल पार्टी प्यालेस, व्यूटिपार्लर, जिमखानालगायत मानिस भीडभाड हुने स्थानहरु सञ्चालन गर्न पाइनेछैन । टेक अवेका रुपमा होटल तथा पार्टी प्यालेसमा भने सञ्चालन गर्न पाइने भएको छ।

खाद्यान्नलगायत अन्य पसल बिहान ५ देखि बेलुका ७ बजेसम्म खोल्न पाइनेछ। विवाह, प्रतबन्ध, सामाजिक संस्कारमा घरपरिवारको व्यक्तिहरु सहभागी हुने, विवाहका लागि दुबैतर्फका गरी २५ जना सहभागी हुने, मठ मन्दिर तथा धार्मिक स्थलहरुमा नित्य पूजा बाहेक अन्य सामाजिक, सांस्कृति धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, विद्यालयमा वैकल्पिक शिक्षण सिकाइ गराउनु पर्नेछ।पछिल्लो समय बालबालिकामा समेत कोडिभको संक्रमण देखिएकाले अनलाइनबाट शिक्षण गराउनु पर्नेछ। क्याम्पस, विद्यालय तथा सबै खालका शैक्षिक संस्थाहरुमा अनलाइनबाट शिक्षण गराउन सुझाव दिइएको छ। प्रशासनद्धारा जारी आदेश उल्लंघन गर्नेलाई कानून संक्रामक रोग ऐन, स्थानीय प्रशासन ऐन र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरिने प्रजिअद्धारा जारी आदेशमा उल्लेख छ।