पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे ।
गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने भनाइ राखे । प्राप्त सामग्रीको उचित सदुपयोग गर्न मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई निर्देशन समेत दिए ।
सिमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् । प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल हुनुपर्ने बताए ।कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले पूर्वमन्त्री दीपक बोहोरा र उहाँकी दिदी पूर्व स्वास्थ्य विशेष सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराइन् ।
अहिले प्रतिष्ठानको अध्यक्ष केसी र उपाध्यक्ष बोहोरो छन् । प्रतिष्ठानले अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको उनले बताइन् । झन्डै ५ करोडका सामग्री चार्टर फ्लाइटमा नेपाल ल्याइएको हो । कार्यकारी निर्देशक थापाका अनुसार सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम छ । २०६० सालामा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । विश्वमा नाम चलेका विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धानको काम समेत प्रतिष्ठानले गर्दै आएको छ । हस्तान्तरण कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विनोदबिन्दु शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी लगायत उपस्थित थिए ।