विराटनगर, भदौ १० : एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।मुख्यमन्त्री रहँदै आएका शेरधन राईले राजीनामा दिएपछि आज बिहीबार सो पदमा आचार्य नियुक्त भएका हुन्।मुख्यमन्त्रीमा नियुक्त हुनुअघि उनी एमाले प्रदेश १ संसदीय दलको नेता चयन भएका थिए।
विराटनगरस्थित होटल एसिया टेकमा आज बिहान बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।सोही बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने निर्णय गरेको राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेका थिए।मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीका रूपमा शपथ गराएका हुन्। प्रदेशसभा १ ९३ सदस्यीय रहेको छ। तीमध्ये एमालेका ५२ सांसद छन्। एमालेको स्पष्ट बहुमत भएकाले आचार्यलाई दलको नेता बनाई मुख्यमन्त्री नियुक्त गर्न सजिलो भएको हो।