विक्रम खड्का बुटवल । बुटवलको शीरमा रहेको चुरे पहाडले यहाँको सौन्दर्यता बढाएको छ । तर, अहिले त्यहीँ शीरमा रहेको चुरे पहाड सिंगो बुटवलका लागि जोखिम बन्न थालेको छ । यस पटकको अत्याधिक वर्षापछि यो शीर विस्तारै बग्न थालेको छ । अन्धाधुन्ध दोहन र भौतिक संरचना निमार्णलगायतका कारणले पनि चुरै बुटवलका लागि खतरा बन्ने देखिएको हो । अहिलेसम्म समान्य क्षति भए पनि यसले कालान्तरमा कल्पनागरे भन्दाबढी क्षति गर्ने चेतावनी विज्ञहरूले दिएका छन् । अहिलेसम्म सो क्षेत्रमा झरेको पहिरोका कारण बुटवलको ज्योति नगरका करिब ६० घरमा प्रत्यक्ष क्षति पुगेको छ । उच्च जोखिममा रहेका करिब दुई दर्जन परिवार अहिले पनि अन्यत्र आश्रय लिन पुगेका छन् । जोखिममा रहेको परिवार पनि पानी पर्न थालेपछि घर छोडेर भाग्ने गरेको प्रमिला कुवँरले बताइन् । ‘दिउँसोमा त पानी पर्न थालेको थाहा हुन्छ र सतर्क भएर बस्छौं,’ उनले भनिन्, ‘रातिमा भने जाग्राम बस्न लागेको धेरै दिन भयो । कतै रातिमा चुरेको पहिरोले बगाएर लैजान्छ कि भनेर घरमा पालो बाँधेर सुत्ने गरेका छौं ।’
बुटवल उपमहानगरपालिका(३ मा पर्ने सो क्षेत्रका सर्वसाधारणहरू अहिले आक्रोशित देखिन्छन् । उनीहरूले स्थानीय सरकारले आफूहरूको सुरक्षामा ध्यान नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष लालप्रसाद बस्यालले आफूहरू प्रभावित परिवारहरूको आक्रोशका कारण विस्थापित भएको बताए । क्षति कम गर्न माटो सर्ने, विस्थापित परिवारका सामान सारिदिने काम गरेको बताउदै उनले भने, ‘पहिरो नै त हामीले कसरी रोक्न सक्छौं र स्थानीयले दुर्व्यवहार गरेपछि हामी वडा कार्यालय नै बुटवल उपमहानगरपालिकाबाट सन्चालन गरेका छौं । बुटवलको शान चुरे खल्बलिँदा बुटवल नै कुरुप भएको स्थानीय समाजसेवी अर्जुनमान शैजुले बताए । उनले भने, ‘बजारबाट हेर्दा हरियाली रहेको चुरे अहिले छियाछिया भएको देख्दा मनै कस्तो खल्लो महसुस भएको छ ।’सो क्षेत्रमा २०५५ सालमा पनि भिषण पहिरो गएको थियो । त्यति बेलाको पहिरोका कारण ५७ घर पूर्णमा क्षति भएका थिए भने सयौं घर परिवार विस्थापित भएका थिए । त्यति बेला सो क्षेत्रमा घरहरू पनि निकै कम थिए । तर अहिले त्यहि क्षेत्रमै घरहरू धेरै बनेका छन् । ५५ सालको पहिरो पछि जापान सहयोग नियोग जाइकाले गरेको अध्ययनले ज्योति नगर क्षेत्रको बस्ती हाटाउन र चुरेलाई असर पुग्ने कुनै पनि भौतिक संरचना निमार्ण गर्न नहुने निष्कर्ष निकालेको थियो ।
त्यसअघि २०५३ मा गरिएको अर्को एक अध्ययनले बुटवल आसपासका चुरे पहाडबाट प्रतिवर्ष ३० मिटरका दरले भूस्खलन हुँदै गइरहेको निचोड निकालेको थियो । सो अध्ययनले बुटवलन जिकटेक्नोलिक प्लेट रहेको र सो क्षेत्र प्राकृतिक भूक्षय, भूविचलन र भूकम्पको निम्ति खतरनाक हुने भनेको थियो । त्यसपछि का केही वर्ष जोखिमको पूर्वतयारी गरे पनि पछिल्लो दशकमा चुरे पहाडमा पुनःअतिक्रमण र मनपरी भयो । त्यसलाई २०७२ को भूकम्पले अरु खल्बलायो ।राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की भन्छन्, ‘यो प्राकृतिक रूपमा कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको रहेछ, ती धाँजाहरूमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो ।’
समितिका अनुसार बस्तीसम्म पहिरो आउने गरी मानव अतिक्रमण भएको छ । हुन पनि, स्थानीयले मात्रै हैन, सरकारी तवरबाटै सो क्षेत्रको चुरेमा अतिक्रमण र मनपरी बढेको देखिन्छ । बुटवल उपमहानगरपालिकाले चक्रपथ बनाउने भनेर चुरेको फेदमा डोजर चलायो । वसन्तपूर पुग्ने केवलकारका लागि रुखकाटिए । पार्क, मन्दिर, किरियापुत्री भवन जस्ता संरचना चुरे खनेर बनाइएका छन् । यसरी वन अतिक्रमण, डढेलो, वस्ती विकास, विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खलबलियो र बग्न थाल्यो । आफ्नै सुख सुविस्ताका लागि प्रकृतिमा मनपरी खनजोत गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ । मानवीय अतिक्रमणका कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको भूगोल विद् डा। भोजराज कडेरिया बताउँछन् । उनी भन्छन्, ‘चुरे एकदमै कमजोर पहाड हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ । ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो । त्यसमाथि भूकम्पले अरु कमजोर बनाएको थियो, त्यसमा अतिक्रमण भयो, अतिक्रमण भएको ठाउँमा पानीले खोल्दै गयो र लेदोसहितको पहिरो गयो ।’