मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रकाशित मिति:

जनकपुरधाम, २० असोज-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।बुधबार प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये ७७ जना सांसदले मुख्यमन्त्री राउतको पक्षमा मत जाहेर गरेका छन् भने २३ जना सांसदले विपक्षमा मत दिएका थिए ।मुख्यमन्त्री राउतलाई आफ्नो पार्टी जनता समाजवादी ९जसपा०सहित कांग्रेस, माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टी, नेकपा (माओवादी केन्द्र) र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नेकपा एमालेले विपक्षमा मत जाहेर गरेका थिए ।संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्तारुढ दल विभाजन भएकामा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएको जसपाका सांसद अशोक यादवले बताए ।यसैबीच मुख्यमन्त्री राउतले विश्वासको मत लिनुअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको नाराबाजीका कारण प्रदेश २ सभाको बैठक १० मिनेट अवरुद्ध भएको थियो ।

साइकल खरिदमा अनियमितता भएकाले र अख्यितार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गर्दै लोसपाले बैठकमा नाराबाजी गरेपछि सभामुख सरोजकुमार यादवले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।