बालुवाटारमा प्रधानमन्त्री देउवासँग पड्किए पौडेल, मन्त्रीको नाम दिनेबारे कुरै भएन

प्रकाशित मिति:

काठमाडौं, २० असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाभन भएको छ । खासगरी सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम माग्नको लागि सभापति देउवाले पौडेल पक्षका नेताहरुलाई बोलाएका थिए ।तर, यो विषयमा भन्दापनि पौडेलले पार्टीको महाधिवेशनमा केन्द्रित रहेर कुरा गरेपछि दुई नेताबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताकाअनुसार वरिष्ठ नेता पौडेलले आज पार्टीको १४ औं महाधिवेशन तयारी, क्रियाशील सदस्यता विवाद, पार्टी कार्यालय सानेपामा कार्यकर्ताको धर्नालगायत विषयमा कुरा उठाएका थिए ।

उनकाअनुसार नेता पौडेलले अराजक र एकलौटी नगर्न सभापति देउवालाई चेतावनी दिएका छन् । यसैगरि पेलेर अघि बढ्न खोजे यसको परीणाम ठिक नहुनेसमेत पौडेलले चेतावनी दिएका छन् । खासगरी चाडपर्वको मुखमा पार्टी कार्यालयमा कार्यकर्ता धर्नामा बस्दासमेत सभापतिले त्यसबारेमा कुनै चासो नलिएको र उनीहरुको माग पूरा गराउन प्रत्यत्न नगरेकोमा पौडेल रुष्ट छन् ।

उता, मन्त्रिमण्डलमा पौडेल पक्षले तीन वटा मन्त्रालय मागेको छ। तर, प्रधानमन्त्री देउवाले तीन मन्त्रालय नदिने अडान लिएका थिए । देउवाले दुई वटा मात्रै मन्त्रालय दिने भनेका थिए । पौडेल पक्षमा मन्त्री हुनेहरुको संख्या धेरै भएपछि नेताहरु दबाबमा छन् ।

खासगरी यसपटक सुजाता कोइरालाले सरकारमा सहभागी हुने भनिरहेकी छिन् । उता, डा। मिनेन्द्र रिजाल पनि सरकारमा सहभागी हुने तयारीमा छन् । पौडेलले कसलाई पठाउने भन्नेबारे निर्णय गर्न सकेका छैनन् । आजको शीर्ष नेताहरुको बालुवाटारको बैठकमा पौडेलले मन्त्रिमण्डल विस्तारबारे खासै कुरा गरेका थिएनन् ।