सरकारकाे सय दिन संविधानकाे रक्षा र नागरिककाे जीवन रक्षा गर्नमै केन्द्रित : गृह मन्त्री खाण

प्रकाशित मिति:

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र नागरिकको जीवन रक्षा गर्नमा केन्द्रित भएको बताउनुभएको छ ।आज बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधानको प्रतिकूलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र नागरिकको जीवन रक्षामा केन्द्रित भएको बताउनुभएको हो ।

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उहाँले बताउनुभयो ।मन्त्री खाणले भन्नुभयो, ‘संविधानको रक्षा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र राज्यलाई एकदलीय कब्जाबाट मुक्त गराएर पुनः सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र नागरिकको जनादेशलाई अगाडि बढाउने क्रममा सरकार अगाडि बढेको छ । हिजोआज प्राकृतिक विपद्को पनि हामीले सामना गर्नुपरेको छ । नागरिकलाई सुरक्षा दिने, राहत दिने, जीवन रक्षाका लागि सरकार प्रतिबद्धतापूर्वक अगाडि बढ्दछ र संविधानको पालना पनि हामी गर्छौँ । संविधानको रक्षा पनि गर्छौँ । सय दिनमा हामीले संविधानको रक्षा गर्ने, नागरिकको जीवनको रक्षा गर्नमै हामीले आफूलाई केन्द्रिकृत गरेका छौँ ।’

गृह मन्त्री खाणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताउनुभयो ।