मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भोलि बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ ।विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रदेशसभामा आवद्ध दलका सदस्यहरुले क्रमशः आफ्ना धारणा राख्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि मत विभाजन हुनेछ ।