अभिभावकलाइ चिठ्ठी

प्रकाशित मिति:

प्रिय अभिभावक नमस्कार,
तपाइलाई पनि थाहै छ होला कसैलाई नदेख्दैबाट सच्चा माया गरिन्छ भने त्यो हो–सन्तानप्रतिको माया ।
सन्तानप्रतिको माया, सद्भाव, आत्मीयता र स्नेहको डोरी यती बलियो हुन्छ कि जति नै कठिन परिस्थिति आएतापनि चुड्दैन र चुड्न दिनु पनि हुँदैन । आज तिनै सन्तानको खुसीको लागि आमा बुबाले आफ्नै अस्तित्वलाई नामेट पारेर किन नहोस् उनीहरुको आँखामा आँशु टल्पलाउन दिएका छैनन् । लाखौं चुनौतीहरुको सामना गरेर सन्तानको चाहाना पूरा गर्न तल्लिन भैरहेका कर्मठ अभिभावकप्रति गुनासो गर्ने ठाँउ छैन उहाँहरुप्रति गहिरो सम्मान छ । तथापि आज हरेक सम्बन्ध यान्त्रिक हुन थालेका छन् । अभिभावक र सन्तानको सम्बन्ध पनि अन्तत त्यसतर्फ जान्छ कि भन्ने निकै चिन्ताको विषय बनिरहेको छ । केही तहसम्म त्यो देखा पर्न थालेको पनि छ ।

आज हामीले आफ्नो बारेमा बाहेक अरुको बारेमा सोच्नै नसक्ने जस्तो भैसकेका छौं । पराइका कुरा एकछिनलाई छोडौं । आफ्नै बाबुले छोराछोरीको भावना बुझ्न नसक्ने अबुझ बन्दै गैरहेको छ । आफ्नै आमाले सन्तानको समस्या बुझ्न नसक्ने कठिन परिस्थितिको विकास भैरहेको छ । सन्तानले अभिभावकको मनोभाव बुझ्ने त निकै परको कुरा भैरहेको छ त्यसलाई एकछिन पर नै राखौं ।
आज परिवारभित्र यति धेरै खाडलहरुको सृजना हुँदै गैरहेको छ कि सम्याउने जिम्मा कसको हो थाहा पाउने निकाय नै छैन । आदर्शका कुरा गर्नेहरुको कुनै अभाव छैन । अनेकौ अभियान्ताहरुको कुनै कमि छैन तथापि सम्बन्धको गहिरो मनोविज्ञान बुझ्ने मान्छेको अति नै अभाव देखिएको छ ।

हरेक साँझ सन्तानसँग कम्तिमा १ घण्टा दिनभरका कुराहरु एकआपसमा बाड्ने हो भने दुबै पक्षको दिनभरको तनाव कम हुन सक्थ्यो होला तर त्यो समय पनि अरुकै लागि खर्च भैरहेको छ त्यो पनि कुनै उपलब्धि बिना । अरुका बेतुकका कुरा र चर्तिकलामा समय बर्वाद गर्नुभन्दा परिवारका सदस्यहरुबीच ख्यालठट्टा र रमाइलो गर्दा घाटा पक्के हुँदैन होला । सन्तानहरु माया र स्नेहको अभावमा छट्पटाएर अर्को दोस्रो विकल्प खोज्नु अघि सोच्न सकिएन भने भोली स्थिति हाम्रो काँबुबाट निकै पर पुगिसकेको हुनेछ । तत्पश्चात पश्चातापको आगोमा जल्नु बाहेक दोस्रो विकल्प हामीसँग रहने छैन ।

आज हामी आफ्नो जिम्मेवारीबाट एक पटक होईन पटक पटक विचलित भएर भागिरहेका छौं । भौतिक सम्पन्नताले सबै कुरा प्राप्ति हुन्छ भन्ने हाम्रो गलत बुझाइको बिजारोपण भएको छ । बालबालिकालाई डिजिटल ड्रग्सको कुलतमा फसाएर हामी कुन समृद्धिको लागि दौडिरहेका छौ सायद थाहा छैन । झसगं हुन नपरोस जब निकै अप्रिय घटना हाम्रो कानमा ठोक्किएर मन मस्तिष्कलाई रेट्छ ।
विद्यालयको शुल्क तिरेपछि सबै कुरा विद्यालयको ठेक्का सम्झेर आनन्दको श्वास फेर्ने आदतले जीवनभर शान्तिको श्वास फेर्न नसक्ने स्थिति बन्न सक्छ । तथ्य राम्रोसँग बुझ्न आवश्यक छ कि–तपाईले बुझ्न नसकेको तपाईको सन्तानलाई विद्यालयको जागिरे शिक्षकले बुझेर जीवनमा नै कायपलट ल्याईदिन सक्दैन ।

हामी आफै मोवाइलमा मस्किएर सन्तानलाई पढ भन्ने नैतिकता कसरी पायौ ? यदि सन्तानमा परिवर्तन चाहानुहुन्छ भने पहिले आफू बद्लिएर हेर्नुस् । बालबालिकामा परिवर्तन शब्दको सञ्जालले भन्दा ज्यादा हाम्रा सकारात्मक व्यवहारले ल्याउन सकिन्छ । आफूले कठोर र अमर्यादित शब्द बोलेर उसबाट सभ्य र मर्यादित वचन र व्यवहारको परिकल्पना गर्न सकिन्न ।
हाम्रो अपेक्षा यति धेरै माथि छ कि सन्तानको क्षमता भन्दा कैंयौ गुणामाथि । हाम्रा पूरा नभएका सपनाहरु पूरा गराउने दरिलो आधारको रुपमा हामीले उनीहरुलाई प्रयोग गर्न खोजिरहेका छौ । उ जे बन्न जन्मेको हो त्यो बन्न दिने भन्दा पनि हामी के बनाउन चाहान्छौ भन्ने कुरा हावी हुँदा समस्या जटिल बन्दै गैरहेको छ । खोलालाई एकछिन थुन्न सकिएला तर सधैभरी रोक्न सकिन्न । जति लामो समय थुन्न खोज्यो त्यति नै धेरै क्षति पु¥याउने सम्भावना जिवीत रहन्छ ।

यति भनिरहदा आशाको दीप अझै निभिसकेको छैन । अब हरेक अभिभावकले गम्भिर भएर सोच्नुपर्ने समय आएको छ । आफ्ना सन्तालाई उचित माया ममता तथा स्नेह दिन आवश्यक छ । उनीहरुको मनोविज्ञानलाई बुझ्न जरुरत छ । उनीहरुमाथि नियन्त्रण होइन निगरानी गर्न अपरिहार्य छ । यदि सन्तान कुलतमा फस्यो भने अथाह सम्पती खरानी बराबर हुनेछ ।
जसरी हरेक फूलको रगं र सुगन्ध फरक हुन्छ त्यसरी नै उनीहरु पनि फरक हुन्छन् र हरेकको क्षमता फरक तर विशिष्ट हुन्छ भन्ने तथ्यलाई मनन गर्न पनि जरुरत छ । सन्तानलाई साथीको रुपमा बुझ्नुभयो वा स्विकार गर्नुभयो भने आधा भन्दा धेरै समस्या स्वतः समाधान भएर जान्छन् ।

विद्यालय वा क्याम्पसले लिने परीक्षा जीवनको सबथोक होईन यो केवल एक पाटो हो । एउटा पाटोमा कम्जोर हुँदैमा जीवन नै समाप्त हुने होईन र त्यही पाटोमा मात्र सफल हुँदैमा जीवन कायापलट हुने पनि होईन । जीवनको मोडमा परीक्षा त कति आउछन् कति तर धैर्यतापूर्वक सामना गर्न सक्ने क्षमता विकसित गर्न सकियो भयो सफलता प्राप्त हुन्छ नै हुन्छ । त्यसैले हिजो हुतिहारा कहलिएको व्यक्ति भोली सर्वप्रिय र सफल बन्न सक्छ । हिजो असफलताले घेरिएको व्यक्ति सफलताले शीर उचो पारेर अगाडी बढ्न सक्ने सामथ्र्य पनि राख्छ । सत्य स्विकारौ कि– हरेक व्यक्ति आफ्नो लागि विशिष्ट हो ।

कि त हामीले आफ्नो कुरा उनीहरुलाई बुझाउन सकेका छैनौ या उनीहरुको कुरा बुझ्न आवश्यक नै ठानिरहेका छैनौं । यदि यी गल्ती दो¥याइरहने हो भने हामीले भोग्ने समस्या पनि दोहोरिने छन् र समस्या ज्यूकात्यू हुनेछ । अतः समयमै सचेत हुन जरुरी छ ।

त्यसैले अभिभावक ज्यू, हिजो सन्तानको जन्मपूर्व जुन माया, प्रेम र स्नेह उसलाई गर्नुभएको थियो त्यतिकै आज पनि गरेर त हेर्नुस् परिवारमा कसरी चमत्कार आउछ आफै महसुस गर्न सक्नुहुनेछ । आज लाखौ मानिसहरु सन्तान प्राप्तिको लागि तड्पिरहदा तपाई भाग्यमानी मध्य एक हुनुहुन्छ । त्यसैले सन्तानलाई नपाउदा सम्म हिरा र पाएपछि किरा सम्झेर आफ्नै खुसीको मुहानलाई धमिल्याउने भुल नगरौं ।