राप्रपा महाधिवेशन : मतदानमा ५० प्रतिशत मत सङ्कलन

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ ।आज भएको विद्युतीय मतदान प्रक्रियाप्रति मतदाताले राम्ररी जानकारी प्राप्त नगरेकाले पनि समय धेरै लागेको छ । उक्त प्रक्रियामा प्रतिव्यक्ति मतदाताले करिब २० मिनेट पर्खनुपर्ने भएकाले पनि प्रक्रिया लम्बिने देखिएको छ ।नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधिले साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ ।

यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदको निर्वाचनमा मतपत्र प्रयोग गरिएकाले छिटो र छरितो मतदान भएको छ ।नयाँ कार्यसमितिका लागि २६६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको छ । मतदान केन्द्रमा मतदातालाई मतदान गर्नु अगाडि विद्युतीय मतदानका प्रक्रिया तथा विधि प्रयोग गरी सिकाइएको छ ।अर्का नेता ध्रुवबहादुर प्रधानले निर्वाचनका लागि ८६ विद्युतीय यन्त्रको व्यवस्था गरिएको भए पनि त्यसको प्रयोगमा समय लागेकाले मतदातालाई केही समस्या भएको जानकारी दिए।

यसपटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दिएसँगै नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका साथमा अध्यक्ष पदका प्रत्यासी लिङ्देनले मतदान गरिसकेका छन्। अर्का प्रत्यासी थापाले मतदान गर्न बाँकी छ ।करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा ९संयुक्त०को एकतापछि पहिलोपटक भएको अधिवेशनमा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । पार्टीका नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि लामबद्ध मतदातालाई आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन् ।