नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो ।
प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजे पछि मात्रै सुरु भएको थियो ।
खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रवार मनोनयन दर्ता गराएका थिए । मतगणना भने भोलि विहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्ष बाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरे बीच प्रतिस्पर्धा भएको छ ।