सुर्खेतस् नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन्। माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित भएकी हुन्।माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो। त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिए।
पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेशसभा सदस्य हुन्। अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ। अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ।
माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुमपश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन्। केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ।