१ पुस, जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारिएको छ ।यो अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्नका निम्ति खरीद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेको केही दिनमै मन्त्रिपरिषद बैठकले यो कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालन गर्ने जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले यस सम्बन्धी कार्यविधि तयार पारेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो कार्यविधि पारित गरेको प्रदेश २ सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र साहले बताए ।बिहीबारको बैठकले राजविराजमा केही दिनअघि कार्यालय स्थापना भएको कृषि विश्वविद्यालयलाई ३१ करोड रुपैयाँ अनुदान दिने सैद्धान्तिक सहमति दिएको छ ।
यो रकमभित्र योजना बनाउन सैद्धान्तिक सहमति दिइएको मन्त्री साहले बताए । ‘हामीले भवन निर्माणसहितका काम अघि बढाउन यो बर्ष ३१ करोड रकम कृषि विश्वविद्यालयलाई दिने सैद्धान्तिक सहमति गरेका छौं’ साहले भने ।बैठकले जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय पनि गरेको मन्त्री साहले जानकारी दिए ।