कांग्रेसमा जनताको आकर्षण बढ्दो छ : पूर्वमन्त्री भण्डारी

प्रकाशित मिति:

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा जनताको आकर्षण बढिरहेको बताएका छन् ।नेपाली काङ्ग्रेस बन्दिपुर गाउँसमिति–५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको उल्लेख गरे । “देशैभर कांग्रेस प्रवेश गर्नेको लहर छ, जनताको आकर्षणले पार्टीलाई थप सुदृढ बन्न सहयोग पुग्छ”, भण्डारीले भने, “जनताको भरोसा टुट्न दिँदैनौँ ।”

पूर्वमन्त्री भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । भण्डारीले निकट विषयमा हुने तीनवटै तहको निर्वाचन कांग्रेसले जित्ने दाबी गरे । उनले भने, “निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौँ, सबै एकजुट भएर लागेको खण्डमा कांग्रेस हार्दैन ।”

मुलुक र मुलुकवासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टले जनमतको कदर नगरेको आरोप लगाए ।