काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि समुहगत छलफलको सुझाव पेश गरिँदै छ । सुझावहरु पेश भइसकेपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने पार्टीको निर्वाचन समितिले जनाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल गरिएको थियो ।
बुधबार २५ मध्ये ११ वटा समूहले आफ्ना सुझाव पेश गरिसकेका छन् भने बाँकी १४ समूहले आज सुझाव पेस गर्ने कार्यसूचि रहेको छ । त्यसपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिने जनाइएको छ ।आजै सुझाव पेशको चरण सकिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । गत आइतबारदेखि महाधिवेशन राजधानीस्थित प्रज्ञा भवन, कमलादीमा सुरु भएको हो ।