एमालेप्रति माधव नेपालको टिप्पणी, ‘त्यो पाटीपौवाको केही काम छैन’

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी नभएर ‘पाटीपौवा’मा परिणत भइसकेको टिप्पणी गरेका छन् । विहीबार (आज) काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका हुन् ।

त्यस्तै नेपालले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको बताए ।अध्यक्ष नेपालले एमालेमा ‘केही गरौं’ भन्ने भावना समेत नरहेको उल्लेख गर्दै भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने । त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन ।’

उनले थप भने, ‘परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’त्यस्तै अध्यक्ष नेपालले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने बताए ।