सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल बिमालेख जारी गरेको छ । कम्पनीले अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिष्कृत गरी सहज तथा सर्वसुलभ गराउन डिजिटल (अभौतिक) बिमालेख सेवा सञ्चालनमा ल्याएको हो ।अनिवार्य रूपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बिमा समितिले बिमकले डिजिटल बिमालेख जारी गर्ने बाटो खुला गरिदिएपछि अभौतिक बिमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी भएको दाबी गरिएको छ । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै समयको बचत गराउने तथा कम्पनी र ग्राहक दुवैका लागि सजिलो हुने कम्पनीको दाबी छ ।
कम्पनीको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि दुई वर्षपहिलेदेखि नै सञ्चालनमा रहेको जनाइएको छ । यसका साथै अनलाइनबाट सजिलै दाबी प्रक्रिया पनि अगाडि बढाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए ।