एमाले महासचिव पोखरेललाई धक्का, दर्जनबढी नेता एकीकृत समाजवादी प्रवेश

प्रकाशित मिति:

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई गृह जिल्ला दाङमा राजनीतिक धक्का लागेको छ ।नेकपा एमाले दाङका पूर्व जिल्ला कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

आइतवार तुलसीपुरमा पार्टी निकट युवा संघको भेलाका अवसरमा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्व जिल्ला कमिटी सदस्य प्रेमबहादुर बस्नेत, बसन्ता गोराथोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरूले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । रेग्मी केही दिन अघि भएको एमालेको जिल्ला कमिटी सदस्य चयन हुनुभएको थियो ।

त्यस्तै दुर्गा वली , शान्ता वली, लक्ष्मी वली, विष्णु वली, ओमबहादुर कँडेल, मोहन बस्नेत, बसन्त रैदासलगायत पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले स्वागत गर्नुभएको थियो । यस अघि कार्यपालिका सदस्य दीपक कुमाल,चित्रा मल्ल तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष पनि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।