लुम्बिनीको तीन सिटमा गठबन्धन भर्सेस एमाले : गठबन्धनलाई मतदाता सुरक्षित राख्न चुनौती
रुपन्देही । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उम्मेदवार उठाएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका महिलाबाट कोमल वली, दलितबाट रामलखन चमार र अन्य समुदायका दृगनारायण पाण्डेयको पद रिक्त हुँदैछ । सोही तीन पदका लागि आगामी माघ १२ मा चुनावको मिति तोकिएको छ ।पाण्डे ८ महिनाअघि एमाले प्रदेश सांसदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरी राष्ट्रियसभामा गठबन्धनबाट चुनाव जितेका हुन् ।
लुम्बिनी प्रदेशमा ३ सिटमा सत्ता गठबन्धनमा रहेका ५ दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।लुम्बिनीमा ३ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।मतभारको आधारमा अन्य प्रदेशमा जस्तै लुम्बिनीमा पनि सत्तारूढ गठबन्धन बलियो देखिए पनि आफ्ना मतदाता सुरक्षित गर्न भने चुनौती रहेको गठबन्धनमै सहभागी दलका नेताहरुले स्वीकार गर्छन् ।एकातिर सत्तारुढ गठबन्धनमा रहेका दलहरूका सबै मतदाता एकैठाउँमा रहन नसकेको अवस्थामा एमालेलाई फाइदा पुग्ने दावी एमालेको छ भने यो प्रदेशमा माओवादीका उम्मेदार नभएकाले केही मत चोर्न सकिने दाउ एमालेले बनाएको छ ।
स्थानीय तहका केही जनप्रतिनिधि एमालेले आफूतिर तान्न प्रयास गरिरहेको र तराईका केही जनप्रतिनिधिको विश्वास नभएको गठबन्धनका केही नेताहरुले शंका गरेका छन् ।सत्तारूढ गठबन्धनले कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छन् ।देशभरको भागवण्डा मिलाउँदा लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार परेको छैन । गठबन्धन दलले यसअघि आफ्नो भागमा परेका सांसदमा आफै उम्मेदार दिने र एमालेले जितेका उम्मेदारको स्थानमा बाँडेर गठबन्धनलाईं भाग पुराएको थियो ।एमालेले दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारलाई एमालेले उम्मेदवार बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।
मतभारको अवस्था यस्तो छ
कूल मतदाता – २९६
कूल मतभार – ७७५८
प्रदेश सांसद – ३८८८
पालिका – ३८७०
एमाले – ३३०६
सत्तारुढ गठबन्धन – ४२७८
राप्रपा – ३६
अन्य – १३८
चुनावमा प्रदेश सांसदको मतभार ४८ हो भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हो । लुम्बिनीमा १०९ स्थानीय तह छन् । प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुखरउपप्रमुख २१५ जना मतदानमा सहभागी हुनेछन् । लुम्बिनीमा २९६ मतदाता छन् ।लुम्बिनीमा प्रदेशतर्फको ३ हजार ८८८ र स्थानीय तहको ३ हजार ८७० गरेर कूल ७ हजार ७५८ मतभार रहेको छ ।त्यसमध्ये लुम्बिनी प्रदेश सभामा एमालेका ३६ सांसद र स्थानीय तहका ८५ प्रमुख तथा उपप्रमुख छ । एमालेसँग सबै मतभार ३ हजार ३०६ छ । सत्तारूढ गठबन्धनमा कांग्रेसका १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ६४ जना छन् । उनीहरूको मतभार २ हजार ६४ छ ।नेकपा माओवादी केन्द्रका १८ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४१ गरेर १ हजार ६०२ मतभार छ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका ४ सांसद र १० स्थानीय तहका प्रमुख उपप्रमुख गरेर ३७२ मतभार रहेको छ ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ५ गरी १३८, नेकपा एकीकृत समाजवादीका १ सांसद र ४ स्थानीय तहका उपप्रमुख गरी १२० मतभार छ ।सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का २ र स्वतन्त्र १ सांसदको मतभार १४४ छ । यसअनुसार सत्तारूढ गठबन्धनको मतभार हुन्छ । जबकि एमालेसहित अन्य पार्टीको मतभार ३ हजार ५३४ छ ।निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचन तयारी तीब्र रूपमा भइरहेको लोकान्तरलाई बताए । आचारसंहिता कार्यान्वयन गर्न दलहरूलाई आग्रह समेत गरे । अहिले उम्मेदवारहरू मतदातासँग परिचय गर्नमा व्यस्त छन् । गठबन्धन आफ्नो जीत सुनिश्चितजस्तै भएकोमा ढुक्क देखिएको छ ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले आफ्नो मत सुरक्षित राख्दै साना दलहरूको मत पनि एमालेका उम्मेदवारलाई आउने अपेक्षासहित निर्वाचनमा लागेको बताए ।गठबन्धन दललाई दृघनारायण पाण्डे ८ महिनाअघि एमाले प्रदेश सांसदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरी राष्ट्रिय सभामा गठबन्धनबाट चुनाव जितेकाले यही आधारमा चुनाव जित्ने जोडघटाउ गरेर बसेको छ भने एमालेले त्यो बेला र अपहलेको परिस्थिति केही फेरिएकाले आफ्ना उम्मेदारले जित निकाल्ने दावी गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको यो निर्वाचन एमालेविरुद्ध गठबन्धनको अन्तिम अस्त्र भनेर बोलेकाले पनि गठबन्धनमा रहेका दलहरु आफ्ना मतदाता दाँयाबाँया नहुनेमा ढुक्क रहेका हुन् ।