कञ्चन/ रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित कञ्चन गाउपालिका अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी हरैया युवा क्लव रातोले हात पारेको छ। गत फागुन २४ गते देखि संचालित अध्यक्ष कप फुटवल प्रतियोगिताको अन्तिम फाइनल प्रतिस्पर्धामा हरैया रातोले जनआस्था पृथ्वी क्लवलाई ३-० गोल अन्तरले पराजित गरी उपाधी हात पारेको हो ।
उपाधी हात पारेसंगै हरैया रातोले नगद ४० हजार रुपैया सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेत टिम जनआस्था पृथ्वी क्लवले नगद २५ हजार रुपैया सहित कप मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ।
हरैया रातोले बसन्त फुलवारीलाई पराजित गरी फाइनलमा प्रबेश गरेको थियो भने जनआस्थाले हरैया निलोलाई सेमीफाइनलमा पराजित गरी पहरैया रातोसंगको अन्तिम प्रतिस्पर्धा तय गरेको थियो ।हरैया युवा क्लव,कञ्चन ३ हरैयाको आयोजना तथा कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको सेमी फाइनलमा पुग्ने अन्तिम दुई टिमहरु हरैया निलो र बसन्तफुलवारीले जनही ५(५ हजार रुपैया प्राप्त गरेको थियो । यस्तै हरैया रातो र जनआस्था बिच भएको अन्तिम प्रतिस्पर्धामा हरैया रातोका रविन थापा म्यान अफ द म्याच भएका छन ।
म्यान अफ द म्याच भएसंगै रविनले नगद १ हजार रुपैया सहित मायाको चिनो प्राप्त गरेका छन। यसैगरी कञ्चन गाउपालिका अध्यक्ष कप फुटवल प्रतियोगितामा सर्वाधिक गोलकर्ता हरैया रातोका रविन थापा, उत्कृष्ट गोल रक्षक दिपेश परियार भएका छन भने उत्कृष्ट खेलाडीको रुपमा हरैया रातोकै अनुप पुन भएका छन।
कञ्चन ३ धमिनातालमा रहेको गुराँस खेल मैदानमा भएको प्रतियोगितामा विजेता तथा उपविजेता टिमहरुलाई कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले पुरस्कार वितरण गर्नु भएको थियो । क्लवका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षतामा संचालित पुरस्कार वितरण कार्यक्रममा रेडियो कञ्चनका दिनेश घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । प्रतियोगितामा कञ्चनका १२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए ।