राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रदेशस्तरीय बृहत जनजागरण सभा

प्रकाशित मिति:

बुटवल/राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी मगरले हाल स्थानीय तहको नेतृत्व गरेका राजनीति पार्टीहरूलाई नयाँ घोषणा पत्र छाप्न आवश्यक नभएको बताएका छन् ।जनमुक्ति पार्टीको लुम्बिनी प्रदेश लुथम द्वारा आइतबार बुटवलमा आयोजित प्रदेशस्तरीय बृहत जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले हाल स्थानीय तहमा नेतृत्व गरेका दलहरूले नयाँ घोषणा पत्र छाप्न जरुरी नभएको बताएका हुन् ।

उनले हाल स्थानीय तहको नेतृत्व गरेका दलहरूले गत स्थानीय तहको निर्वाचनमा घोषणा गरेका प्रतिवद्वता के के पूरा भए भन्ने उल्लेख गरेर चोकमा टाङ्न चुनौती दिए ।मुलुकमा प्रजातन्त्र पुनःस्थापना पछिको ३० बर्षे अवधिमा नेपाली कांग्रेस,एमाले,माओवादी लगायतका ठूला दलहरूले सरकाको नेतृत्व गरेकोले उनिहरूको परीक्षण भैसकेको भन्दै ३० बर्षको अवधिमा कुन पार्टीले के के काम गरे जनताले अब त्यसको हिसाबकिताब गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा जनमुक्ति पार्टीका महासचिव टोप अस्लामी,केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय महिला मोर्चाकी केन्द्रीय अध्यक्ष होमाया गुरूङ,जनमुक्ति पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष झमबहादुर गुरूङ,जनमुक्ति युवा संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष सुन्दर गुरूङ,पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले पुराना दलहरूबाट मुलुक बन्न नसक्ने प्रमाणित भैसकेको भन्दै जनउत्तरदायि सरकारका लागि यश पटक जनमुक्ति पार्टीलाई जिताउन आग्रह गरे ।कार्यक्रम पार्टीका प्रदेश सचिव चित्र गुरूङको सञ्चालनमा सम्पन्न भएको थियो ।सो अवसरमा करिब एक सय जना विभिन्न पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए ।