काठमाडौंमा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

प्रकाशित मिति:

काठमाडौं, चैत २६ – नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान २०७८ सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सो अभियानको कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले उद्घाटन गरे ।

उपसभापति सिंहले संविधान जारी र त्यसको कार्यान्वयन, भौतिक पूर्वाधारको विकासलगायत कांग्रेसले गरेका कामलाई जनतामा पुर्‍याउँदै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “यसअघिको दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन, त्यस विषयलाई जनतालाई बुझाउँदै अब कांग्रेसको पक्षमा मत सिर्जना गर्नुपर्छ ।”

उनले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा गठबन्धन हुने प्रस्ट पारे । कांग्रेसका नेता डा प्रकाशशरण महतले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिका, भ्रष्टाचार अन्त्य, कोरोना खोपको सुलभ उपलब्धतालगायत कांग्रेसले देश निर्माणमा खेलेको भूमिका जनतालाई बुझाउनुपर्छ भने । उहाँले पार्टीभित्र भएका गुटउपगुट र असन्तुष्टिलाई त्यागेर व्यक्तिवादीभन्दा पनि संस्थागतरूपमा निर्वाचनमा लाग्न अपिल पनि गरे ।