गल्याङ– ८ लाई नमुना वडाको रुपमा बिकास गर्छु :चन्द्र रानामगर

प्रकाशित मिति:

स्याङ्गजा । गल्याङ–८ का वडा अध्यक्षका उम्मेदवार युवा नेता चन्द्र रानामगरले आफ्नो वडालाई जिल्लाकै नमुना वडाको रुपमा बिकास गर्ने बताएका छन् ।मतदाता भेटघाट तथा घरदैलोका क्रममा गांउगांउ र टोलटोल पूगेका रानामगरले वडाको समग्र बिकास गर्ने योजनाका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गर्दै आफ्नो वडालाई नमुना वडाको रुपमा बिकास गर्ने बताएका हुन् । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी समेत रहेका रानामगर काँग्रेसको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

आफूले गर्ने काम र योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मगरले वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुबिधा समेत नलिने घोषणा गरेका छन् । वडाबासीको सेवा गर्ने उद्धेश्यले उम्मेदवार बनेको बताउँदै उनले राज्यकोषबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सरकारी स्तरबाट पाउने सेवा सुविधालाई बिपन्न, दलित, अपांग र असाहयहरुका लागि खर्च गर्ने आफ्नो योजना रहेको बताए ।

उक्त वडामा गत स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता भेक प्रसाद श्रेष्ठले नेकपा एमालेका क्षेत्र बहादुर रानालाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका थिए । वर्तमान वडा अध्यक्ष श्रेष्ठले राम्रो काम गरेर वडाबासीको मन जित्न सफल भएको र वडाको समग्र बिकासमा राम्रो नतिजा दिन सफल भएका कारण पनि आफ्नो जित सुनिश्चित रहेको उनले बताए । स्थानीयको साथ, समर्थन र चाहना बमोजिम युवा पूस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताउंदै मगरले वडाको बिकास र वडाबासीको सेवाका लागि आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।नेपाल बिद्यार्थी संघबाटै राजनीतिक यात्रा शुरु गरेका मगर नेपाल तरुण दल स्याङजाका सचिव समेत हुन् । बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रही सामाजिक गतिविधीमा सकृय रहंदै आएका उनी नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तथा सत्यवती युवा क्लबका पूर्व अध्यक्ष समेत हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका मगरले आफू निर्वाचित भए आगामी दुई बर्ष भित्रमा वडाको कार्यालय भवन निर्माण गर्ने, करादी खोलामा सार्वजनिक शौचालयको निर्माण गर्ने, एक घर एक धाराका रुपमा प्रत्येक घरमा खानेपानीको पहुँच पू¥याउने, बृद्ध भत्ता घरघरमै उपलब्ध गराउने, कृषकहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै वडाका सबै ग्रामिण सडकहरुको स्तरोन्नतीका लागि पहल गर्ने, दलितबस्तीका समस्यालाई सम्बोधन गर्ने र युवाहरुलाई आत्मनिर्भर बनाई स्वरोजगार बनाउने आफ्नो योजना रहेको उनले बताए ।वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको बताउँदै मगरले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् । अध्यक्षका उम्मेदवार रानामगरसँगै उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा यमनारायण श्रेष्ठ, फारम रानामगर, महिला सदस्यमा चुन कुमारी थापामगर र दलित महिला सदस्यमा सबिना बि।क। उम्मेदवार बनेका छन् ।