नेकपा गुल्मीद्धारा २८ औं जनयुद्ध दिवस तम्घासमा सम्पन्न

प्रकाशित मिति:

फागुन  । नेकपा गुल्मीले २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।जिल्ला समिति गुल्मीद्धारा आयोजित कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं जिल्ला इन्चार्ज सुमन सीले जनयुद्ध राजनीतिक दृष्टिले सामन्तवाद, नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरुद्धको संघर्ष भएको भन्दै यसका उपलब्धिहरुलाई रक्षा गर्न नसकिएको बताउनुभएको छ । उहाँले जनयुद्धको रक्षा एकीकृत जनक्रान्तिले गर्ने भन्दै त्यसका लागी इमान्दार क्रान्तिकारी, देशभक्त र प्रगतिशील पक्षधरहरु सिद्धान्तनिष्ठ एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले २८ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण गुल्मेली जनसमुदायलाई शुभकामना व्यक्त गर्दै नेपाली क्रान्तिका सहिद, बेपत्ता, घाइते अपांगहरुप्रति विशेष स्मरण गर्नुभएको थियो ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापाले कम्युनिस्ट पार्टीहरुबीच एकता भएमात्रै जनयुद्धको रक्षा हुने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुमा आबद्ध नयाँ पुस्ताले जनयुद्धको रक्षा गर्दै विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला उपसचिव धर्म सुनारले नयाँ जनवादी क्रान्तिको चरण पुरा भएकोले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ अगाडी बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हरि न्यौपानेले माओवादी विचार सही हुँदाहँुदै पनि नेताहरुको गलत प्रवृत्तिले आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो ।

गुल्मी उद्योग बाणिज्य संघ नेपाल गुल्मीको अध्यक्ष इश्वरी पौडेलले देशको अर्थतन्त्र संकटमा परेको भन्दै यसको समाधानबारे राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।नेकपा जिल्ला सदस्य विनोद सीको सञ्चालन र जिल्ला सदस्य तारा बस्नेतको स्वागतमा कार्यक्रम सम्पन्न गरिएको थियो । देशब्यापी रुपमा गरिएको कार्यक्रम अन्तर्गत नेकपा गुल्मीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रमको अवसरमा नेता कार्यकर्ता, अतिथि र कार्यक्रममा सहभागिहरुबीच अवीर माल्यार्पण गरेर शुभकामना आदानप्रदान गरिएको थियो ।