प्रकाश न्यौपाने । नारायण भण्डारी
असार २१ नवलपरासी
अस्पताल भन्ना साथ तपाई हामी सबैले विरामी हुँदा उपचार गर्न जाने र निको भएर फर्किने ठाउँ बुझ्छौं । हामी विरामी भए त उपचारका लागि अस्पताल जाउँला तर कल्पना गर्नुहोस् त अस्पताल आफै विरामी परे के हुन्छ ?
यो कुनै कल्पना गर्ने विषय नै होईन । किनकी तपाई हामी सबैले सरकारी अस्पतालको अवस्था देखेकै छौं, भोगेकै छौं । कमजोर आर्थिक अबस्था हुने र विपन्न बर्गका लागि उपचार गर्ने एकमात्र विकल्प भनेकै सरकारी अस्पताल हो तर त्यहि अस्पतालमा राम्रोसंग उपचार हुँदैन भने उनीहरुसंग घरमै बस्नु बाहेक केहि बिकल्प बाँकी रहनेछैन ।
आर्थिक अबस्था राम्रो हुनेहरुले निजी अस्पतालमा महंगो पैसा तिरेर उपचार गराउँछन् । नभए विदेश पुगेरै उपचार गराउँछन् । कमजोर आर्थिक अबस्था हुनेहरुका लागि उपचार नपाएर ज्यानै गुमाउनुपर्ने अबस्थाको सिर्जना हुने गर्दछ ।
राज्यले सरकारी अस्पतालमा विभिन्न सेवाहरु निशुल्क रुपमा उपलब्ध गराउने बताउँदै आए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
सरकारी अस्पतालमा पुग्दा नागरिकले भोग्नु पर्ने समस्या सरकारले निशुल्क उपलब्ध गराउने भनिएका औषधी फार्मेसीमा पाईँदैन, एक्सरे मेसिन अस्पतालमा छ, तर सेवा लिन नपाएर बाहिर निजी क्लिनिकमा पुग्नुपर्छ, ल्याव छ सेवा लिन बाहिर जानुपर्छ, अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर जनशक्ती अभाव हुन्छ यी र यस्तै यस्तै । के यो अवस्था हुनु भनेको अस्पताल आफै विरामी हुनु होईन र ?
प्राय सरकारी अस्पतालहरुको अबस्था यस्तै छ । पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा पनि यस्तै खालका समस्या छन् । सरकारले अस्पतालबाट विरामीहरुका लागि निशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधीको लिस्ट अस्पतालमा छ तर विरामीहरु त्यहि लिस्ट हेरेर चित्त बुझाउन बाध्य छन् । अस्पतालको फार्मेसीमा कार्यरत सुनील अधिकारी सरकारले निशुल्क उपलब्ध गराउने भनिएका अधिकांश औषधीहरु फार्मेसीमा उपलब्ध नरहेको बताउँछन् । आर्थिक अबस्था राम्रो हुनेले निजीमै किनेर भए पनि औषधी सेवन गर्लान् तर कमजार आर्थिक अवस्था हुनेहरु त्यही फामेसी अगाडि राखिएको निशुल्क उपलब्ध हुने औसधीको लिस्ट हेरर फर्कनु पर्ने अवस्था रहेको छ ।
गत सोमबार बर्दघाट ४ का गोपाल पोखरेलकी १२ बर्षिया छोरीलाई मुसाले टोक्यो । उनले छोरीलाई रेविज विरुद्धको भ्याक्सीन लगाउनका लागि चिसापानी अस्पतालमा लगे । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्र प्रसाद सापकोटालाई भ्याक्सीन उपलब्ध भए नभएको बारे सोधे । अध्यक्ष सापकोटाले भ्याक्सीन उपलब्ध रहेको जानकारी दिएको पोखरेल बताउँछन् । उनी छोरीलाई भ्याक्सीन लगाउनका लागि अस्पतालमा टिकेट काटे टिटीको सुई लगाए तर रेविज बिरुद्धको भ्याक्सीन लगाउन भने पाएनन् । पछि उनै अध्यक्ष सापकोटाले रेविज बिरुद्धको भ्याक्सीन नभएको भन्दै कुरा फेरेको पोखरेल बताउँछन् ।
उनी भन्छन् “मलाई सुरु मै छैन भनिदिएको भए म अन्यत्र जान्थे, पहिला छ भन्ने तर पछि छैन भन्ने अध्यक्ष ज्यूको कुराले अचम्म बनाउनु भयो । अहिले भ्याक्सीन भएन अन्यत्र लगेर लगाउन प¥यो माईडियर भन्दै मलाई थम्थमाउनु भयो ।”
अस्पतालमा पुगेर सेवा नपाएको पोखरेल मात्र होईन केहि हप्ता अगाडि पत्रकार चिरञ्जीवी न्यौपानेकी आमाको घाँटीमा हड्डी अड्कीएपछि तुरुन्त उपचारका लागि चिसापानी अस्पताल पुगे । अस्पतालको ईमरजेन्सी वार्डमा आमालाई लगेपछि डक्टरले तत्काल घाँटीको एक्सरे गर्न पठाए । न्यौपाने आमालाई लिएर एक्सरे गर्ने ठाउामा गए त्यहाँ पुग्दा एक्सरे गर्नका लागि खटिएका स्वास्थ्यकर्मीबाट अघिले दिन साँझ ६ बजे देखी विद्युत नभएकाले एक्सरे गर्न नसकिने जानकारी पाए ।
जतिसक्यो छिटो आमाको उपचार गर्नका लागि आत्तिएका पत्रकार न्यौपानेले अस्पतालको अन्य ठाउँमा हेर्दा विद्युतमा कुनै समस्या नभएको थाहा पाए । उनले भने “विद्युत त, छ त ” तर ति स्वास्थ्यकर्मीले आफुलाई सम्पूर्ण स्वास्थ्य क्लिनिकमा गएर एक्सरे गरेर आउनु भनेर पठाएको पत्रकार न्यौपाने बताउँछन् ।
न्यौपानेले सम्पूर्णमै पुगेर आमाको घाँटीको एक्सरे त गराए पछि अस्पतालले केही नदेखीएको बताए पछि देवदह मेडिकल कलेजमा लगेर आमाको घाँटीमा रहेको हड्डी निकालेको बताए ।
उपचारका लागि अस्पताल पुगेका बर्दघाट ६ का देवीदत्त सापकोटाले अस्पतालमा ब्यबस्थापन पक्ष अत्यन्त कमजोर रहेको बताउँछन् । अस्पतालमा प्रारम्भिक चरणको उपचार ठिकै रहेको र अहिले रिफरल सेन्टरको रुपमा देखिएको उनी बताउँछन् । विमामा उल्लेख भएका निशुल्क औषधी उपलब्ध नहुने, औषधी प¥याप्त नपाईने समस्या रहेको सापकोटाको भनाई छ ।
चिसापानी अस्पतालको सेवा गुणस्तरिय बनाउनका लागि बर्दघाट नगरपालिकाले राम्रै लगानी गरेको छ । अस्पतालको एक्सरे मेसिन र भिडियो एक्सरे मेसिन खरिदका लागि ३९ लाख बजेट नगरपालिकाले उपलब्ध गराएको थियो । एक्सरे र भिडियो एक्सरे मेसिन खरिद गरी तामझामका साथ उद्घाटन गरियो । तर विभिन्न बाहना बनाएर विरामीलाई बाहिर पठाउने क्रम भने अहिलेसम्म रोकिएको छैन ।
भिडियो एक्सरे गर्नका लागि जनशक्ती अभावको कारण देखाए बाहिर पठाउने गरेको अस्पताल श्रोतकै भनाई छ । चिसापानी अस्पताल १५ शैयाको आधारभुत अस्पताल मध्ये लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल हो । अस्पतालको ब्यबस्थापन पक्ष संगै सेवाका बारेमा समय समयमा गुनासाहरु भने आईनै रहेका हुन्छन् । बेलाबखतमा विरामीहरुले आफुले भोग्नुपरेका समस्याहरु सामाजीक संजाल मार्फत पनि ब्यक्त गर्ने गरेका हुन्छन् ।
अस्पतालमा पत्रकारको टोली पुग्दा सुटुक्क भागे अध्यक्ष
अस्पतालको बारेमा विभिन्न गुनासाहरु आएपछि बुधबार बर्दघाटका केही पत्रकारहरु अस्पतालको अबस्थाका बारेमा रिर्पोटिङ गर्न अस्पताल परिसरमा पुगे । जब अस्पतालमा पत्रकारहरु आएको अध्यक्ष ईन्द्र सापकोटाले थाहा पाईहाले उनले त्यहाँ रहेका स्वास्थ्यकर्मीलाई तपाईहरुले मिलाएर कुरा गर्नु भन्दै सुटुकक अस्पताल परिसरबाट बाहिरिए ।
पत्रकारको टोलीले अस्पताका विभिन्न पक्षको जानकारी लिनका लागि अध्यक्ष सापकोटाको कार्यकक्षमा पुग्दा उनको कार्यकक्ष खाली रहेको थियो । पत्रकारहरुले अध्यक्ष सापकोटालाई फोन गरे उनले आफु गोपिगञ्ज रहेकोले तत्काल आउन नसक्ने बताए । पत्रकारहरुले करिव २ घण्टा कुर्न तयार रहेको बताए पनि उनी आउन नसक्ने बताएर तर्किने प्रयास गरे । अस्पताल परिसरमा रहेका अस्पताल गुणस्तर समितिका सदस्य यमबहादुर थापा जेके ले अध्यक्ष ज्यू भागेको नभई काम विशेषले बाहिर निस्किएको भन्दै बचाउ गरे । उनले भने “ अध्यक्ष ज्यू बाहिर जानु भएको छ । भाग्नुभएको होईन म बोलाईहाल्छु आउनुहुन्छ पत्रकार मित्रहरु पर्खनुहोस् ।”
थापाले पत्रकारहरुकै अगाडि अध्यक्ष सापकोटालाई फोन गरे तर अध्यक्ष सापकोटाले यो विषयमा कुरै नगर्नुस भन्दै आफु आउन नसक्ने बताए । अस्पतालमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई थापाले भने “तपाईहरु यस्ता सानातिना दुई चार सयका समस्यालाई लिएर नआउनुहोस् । राम्रो लेख्नेभए मात्र आउनुहोस् । ” उनै थापाले सामाजीक संजाल फेसबुकमा स्टाटस लेखेर अस्पतालमा पत्रकारहरुको बिगबिगी भएको बताएका छन् । उनले लेखेका छन् “ यो समयमा नेपाल सरकारले अस्पतालहरुमा रेबिजको भ्याक्सीन कतिको सहज गराएको छ भन्ने कुनै जानकारी विना कुनै सुकिला, मुकिलाले आफ्नो छोरीलाई भ्याक्सिन लगाउन पाइयन भन्ने नाउमा चिसापानी अस्पतालमा पत्रकारहरुको बिगबिगी आफैमा न्यायपुर्ण भयो र ? जस्तालाई तस्तै ढिडोलाई निस्तै मित्रहरु ।”
आधारभुत तहका अस्पतालमा ठुलो अस्पतालको अपेक्षा राखियो– वडा अध्यक्ष क्षेत्री
बर्दघाट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले चिसापानी अस्पताल आधारभुत तह भएको तर सेवाग्राहीको अपेक्षा ठुला अस्पतालको सरह भएका कारण समस्या आएको बताएका छन् । उनले अस्पतालले आधारभुत तहको सेवा राम्रो संग प्रदान गरिरहेको र अस्पतालको गुणस्तर सुधार गर्नका लागि आफुहरु निरन्तर लागि परिरहेको बताए ।
क्षेत्रीले भने “अस्पतालमा एक्सरे र भिडियो एक्सरेको समस्या थियो । नगरपालिकाले ३९ लाख बजेट उपलब्ध गराएपछि दुबै मेसिन किनेर संचालनमा आईसकेको छ ।” अहिले पनि कुनै बाहना गरेर बाहिर पठाउने काम भएको भए हामी गम्भिरता पुर्वक अध्ययन गरी आवश्यक कदम चाल्नेछौं । पहिलेको तुलनामा अस्पातमा धेरै राम्रो भएको क्षेत्रीको भनाइ छ ।
भ्याक्सीनको देशैभर अभाव भएकाले हामीलाई पनि समस्या भयो – मे.सु अग्रहरी
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवन अग्रहरीले हाल देशैभर रेबिज बिरुद्धको भ्याक्सीन अभाव भएका कारण चिसापानी अस्पतालमा पनि अभाब भएको बताएका छन् । उनले विचमा बिशेष पहल गरेर १ सय जनालाई पुग्ने भ्याक्सीन ल्याएको तर अहिले सकिसकेको उनले बताए ।
निजिमा पाईने सरकारीमा नपाईने के कारण होला ? भन्ने पत्रकारहरुको जिज्ञासामा डा. अग्रहरीले निजिहरुले ईलिगल रुपमा भारतबाट ल्याउने भएका कारणले पाईने र सरकारी अस्पतालहरुमा सरकारलेनै खरिद गर्नुपर्ने भएका कारण समस्या भएको उनको भनाई थियो ।
रेबिज विरुद्धको भ्याक्सीनका लागि फोकल पर्सनको रुपमा रहेकी बरिष्ठ नर्सिङ निरिक्षक मिना श्रेष्ठले असार लागे पछि २० गते सम्म ५६ जनालाई भ्याक्सीन लगाईएको बताईन् । उनले एकजनालाई ३ डोज लगाउनुपर्ने र त्यसका लागि भ्याक्सीन स्टकमा राखिएकोले नयाँलाई लगाउन नसकिएको बताईन् । केन्द्रको मापदण्ड अनुसार एक पटकमा ५० भाईल मात्र उपलबध हुने भएकोले माग अनुसार पु¥याउन नसकिएको उनको भनई छ । अहिले केन्द्रमा पनि स्टक सकिएकोले अब अर्को आर्थिक बर्षमा खरिद गरेर पठाउने भन्ने जानकारी पाएको श्रेष्ठले बताईन् ।
केन्द्रले नपठाउने हामीले किन्न नपाउने हुँदा समस्या छ – स्वास्थ्य शाखा प्रमुख ज्ञवाली
चिसापानी अस्पतालमा सरकारले निशुल्क उपलब्ध गराउने औषधी नपाईने समस्या छ । केन्द्रले पुरै औषधी नपठाउने र स्थानिय सरकारले खरिद गर्न पनि नपाईने भएकोले समस्या समाधान गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली बताउँछन् । “भ्याक्सीन, परिवार नियोजन, टि.वि. ल्याप्रोस्कोपी लगायतका रोगहरुको औषधी स्थानिय सरकारले खरिद गर्न पाउँदैन ।” ज्ञवाली भन्छन् । भिडियो एक्सरेका लागि भने डाक्टर विदामा भएको समयमा रोकिने अबस्था रहेको उनले बताए ।