रामग्राम नगरपालिकाको मुल्यांकन समितिको काम, २५ लाख झ्वाम

प्रकाशित मिति:
प्रकाश न्यौपाने / नारायण भण्डारी
असोज ९ गते
नवलपरासी । रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएर झ्वाम परेको छ । नगरपालिकामा कर्मचारीको मिलिमोतोमा नियम विपरित वैठक भत्ताका नाममा अनियमितता भएको पाइएको हो । मुल्यांकन समितिमा एक दिनमा तीन तीन पटक वैठक भत्ता रामग्राम नगरपालिकाका कर्मचारीले लिएको पाईएको हो ।

नियम अनुसार दिनमा एक पटक वैठक भत्ता लिन मिल्ने प्रवाधान रहेको पनि मुल्यांकन समितिका कर्मचारीहरुले भने नियम विपरित एक दिनमा तीन÷तीन पटक वैठक बसेको रकम लिएको पाईएको रामग्राम नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष एव लेखा समितिका संयोजक धनपत यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ– “मुल्यांकन समितिमा रहेका कर्मचारीले नियम विपरीत वैठक भत्ता लिएको र जनताले तिरेको कर दुरुपयोग भएको छ । त्यसैले नियम विपरित भत्ता लिने कर्मचारीले उक्त रकम तुरुन्त फिर्ता गर्नुपर्छ ।” लेखा समिति संयोजक यादवका अनुसार गत आर्थिक वर्षमा करिव २५ लाख रुपैयाँ नियम विपरित भत्ता खाएको पाइएको छ ।

“बैठक भत्ता एक दिनको एक पटकको मात्र लिन मिल्छ तर एकै दिनमा दुइ ÷ तिन पटकसम्म पनि वैठक भत्ता लिएको पाइएको छ ।” नगरपालिकाका एक कर्मचारीले आफ्नो नाम नखुलाउने सर्तमा भन्नुभयो । “नियमतः पनि मिल्दैन र व्यवहारिक तहबाट पनि मिल्दैन तर लेखा शाखाको कर्मचारीको आन्तरिक मिलिमोतोमा भत्ता दिइएको छ । मुल्यांकन समितिको वैठकको रकम कर्मचारीले तीन पटक लिएको देखिएको यादवले बताउनु भयो । उहाका अनुसार एकै दिन कहीले ३ त कहीले २ पटकसम्म मुल्यांकन समितिको वैठक बसेको छ र कानुन विपरीत भत्ता लिइरहेका छन् ।

मुल्यांकन समितिमा तह अनुसारको भत्ता छैन सबै कर्मचारीले उपसचिव सरहको भत्ता खाने गरेका छन । पाँच सदस्यीय मुल्यांकन समितिको प्रमुखमा पालिकाको प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ । उहाँ उपसचिव हुनुहुन्छ । उपसचिव प्रमुख भएकाले समितिमा भएका सबै कर्मचारीले उपसचिवले पाउने रकम बराबरकै रकम भत्ता खाएका हुन् । उपसचिवको भत्ता प्रति वैठकको १ हजार ५ सय र अन्य कर्मचारी एक हजार रूपैयाँ पाउने प्रवाधान रहे पनि मुल्यांकन समितिमा रहेका सबै कर्मचारीले १ हजार ५ सय रुपैयाँ भत्ता खाएको यादवको जानकारी दिनु भयो ।


सार्वजनिक विदा र शानिबारका दिनमा पनि मुल्यांकन समितिको वैठक बसी भत्ता लिएकोे भेटिएको रामग्राम नगरपालिकाका आन्तरिक लेखा परिक्षक राम सुवास गुप्ताले बताउनु भयो । उहाँ भन्नुहुन्छ –“आलेप गर्ने क्रममा नियम विपरित कर्मचारीहरुले वैठक भत्ता लिएको भेटिएको छ । हामीले हाम्रो राय राखेका छौँ । नियम विपरीत लिएको भत्ता कर्मचारीहरुबाट फिर्ता गराउछौं ।”
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले मुल्याङ्कन समितिले लिएको भत्ताको बारेमा लेखा समितिले हेर्ने भएकोले लेखा समिति संयोजकसँग जानकारी लिनु भन्दै कुनै प्र्रतिकृया दिन चाहनुभएन । उहाँले भन्नुभयो “नियम विपरीत लिएको हो की होइन मलाई थाहा छैन । यस विषयमा लेखा संयोजक बढी जानकार हुनुहुन्छ ।”


नगरप्रमुख यादवले आफूलाई थाहा छैन भने पनि लेखा समिति संयोजक यादवले पटक–पटक नगर प्रमुखलाई जानकारी गराएको बताउनुभयो । मुल्यांकन समितिको कार्यविधि अनुसार प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा योजना, लेखा र अन्य शाखाहरुको प्रतिनिधित्व रहने गरी गठन गर्नुपर्ने व्यवस्था रहेको लेखा समिति संयोजक यादवले बताउनुभयो ।
मुल्यांकन समिति नै कार्यविधि विपरित बनेको बताउँदै यादवले आफूखुसी मिलिमतो गर्नको लागि २ जना इन्जिनियर र २ जना लेखाको कर्मचारी राखेर समिति बनेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘मैले यस विषयमा लेखामा रहेर प्रश्न खडा गरेँ, राम्रो जवाफ पाइन र मैले लिखित रुपमै जवाफ माग गरे, करिब १ महिना भयो, अहिले सम्म जवाफ पाएको छैन, जुन कुरा मैले नगर प्रमुख ज्युलाई जानकारी गराए, तर उहाँले कुनै पनि वास्ता गर्नुभएन ।’


गत आर्थिक वर्षमा रामग्राम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत, २ जना इन्जिनियर र २ जना लेखा शाखाका कर्मचारी गरि ५ सदस्यीय मुल्यांकन समिति बनेको थियो । समितीको संयोजकमा प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का र सदस्यहरुमा प्राविधिक शाखामा कार्यरत इन्जिनियर माधव न्यौपाने, सतिष गुप्ता, लेखा शाखामा कार्यरत संजय शर्मा, कुन्दन कुमार चौधरी रहनु भएको छ ।