बुटवल- असोज । ‘सानो लगानी ठूलो आकांक्षा, हाटबजारबाट आत्मनिर्भरता’ भन्ने उद्देश्यका साथ स्थापित संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको आयोजना र आधुनिक समाज डेन्टल केयर प्रा.लि. बुटवलको सहआयोजनामा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले हाटबजारमा आवद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायमा मात्रै केन्द्रित नभई व्यवसायीहरुको स्वास्थ्यमा विशेष ध्यान दिदैं निःशुल्क दन्त शिविर सञ्चालन गरिएको संघका अध्यक्ष टेक बहादुर जिसीले बताए ।कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले बोल्दै हाटबजार व्यवसायी संघले व्यवसायसंगै सामाजिक कार्यमा पनि विभिन्न कार्यक्रम गरेको बताए । उनले हाटबजार व्यवसायी संघले सरसफाई र स्वास्थ्य शिविरजस्ता सामाजिक कार्य गर्दा आगामी दिन वडासंग समन्वय गरेर अगाडि बढेमा अझै प्रभावकारी हुने बताए ।
आधुनिक समाज डेण्टलका अध्यक्ष तथा स्वस्थ मुख अभियान नेपालका अभियान्ता अमृत भुसालले बोल्दै दातको समस्या अत्यन्त पीडादायक भएकोले गरिवका लागि दातको दुःखाई जति भएपनि सहनुपर्ने र धनीका लागि दुःखाई केही मात्रामा भएपनि तुरुन्त उपचार गर्ने पद्धतिको अन्त्यका लागि सबैले सहजरुपमा उपचार सेवा पाउन भन्ने उद्देश्यले निःशुल्क शिविर गरिएको बताए । उनले समाजमा केही नयाँ सन्देश दिनका लागि व्यवसायसंगै सामाजिक सेवामा पनि केही सचेतना पुगोस् भन्दै विभिन्न जिल्लामा शिविरहरु सञ्चालन गरिएको बताए ।
आधुनिक समाज डेण्टल केयर प्रा.लि.का दन्तरोग विशेषज्ञ डा. काजल श्रेष्ठसहितको प्राविधिक टोलीको सेवामा भएको निःशुल्क दन्त शिविरमा १ सय १४ जना व्यवसायीले सेवा लिएका छन् । स्वस्थ मुख अभियान नेपालका कार्यक्रम संयोजक माधव सापकोटा, हाटबजार व्यवसायी संघका निवर्तमान अध्यक्ष भीमलाल ज्ञवाली, संघका सल्लाहकार छविलाल चापागाईंलगायतले बोल्दै संस्थाले व्यवसायीको हितका लागि दन्त शिविर कार्यक्रम अत्यन्त फलदायी हुने बताए । संघका उपाध्यक्ष शोभा पोख्रेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव हुमाराम पोख्रेलले गरेका थिए ।
मुख तथा दन्त स्वास्थ्य सम्बन्धी सम्झौता-सोही निःशुल्क दन्त शिविर कार्यक्रममा हाटबजार व्यवसायी संघ रुपन्देही र आधुनिक समाज डेण्टल केयर प्रा.लि. बीच आगामी मुख तथा दन्त स्वास्थ्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार शिविरमा हाट बजार व्यवसायी संघका अध्यक्ष टेक बहादुर जिसी र आधुनिक समाज डेण्टल केयर प्रा.लि. का अध्यक्ष अमृत भुसालबीच दात तथा मुख स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्न दुई वर्षका लागि सम्झौता गरिएको छ ।यो सम्झौतासंगै संघमा आवद्ध व्यवसायी सदस्यहरुका लागि परिचयपत्रका आधारमा दात तथा मुख स्वास्थ्य सम्बन्धी उपचारमा ३० देखि ३५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । योसंगै संघले आफ्ना गरिव असहाय तथा अति विपन्न सदस्यहरुका लागि सिफारिस पत्रसाथ सेवा उपलब्ध गराईदिन आग्रह गरेका अवस्थामा त्यस्ता सेवाग्राहीको हकमा आधुनिक समाज डेण्टलले आधारभुत सेवा निःशुल्क प्रदान गर्नेछ ।