जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधिमा शान्ति नमुना र न्यू होराइजनको साझेदारी
तिलोत्तमा, असोज ३० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा भएको जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधिमा आयोजक शान्ति नमुना मा.वि. र न्यू होराइजन मा.वि.ले साझेदारी गरेका छन् ।
फाइनल खेलमा दुवै समूहबाट निर्धारित समयमा १–१ गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा दुवै टिमका सबै खेलाडीले प्रहार गर्दा समेत समानता भई विजेताको टुङ्गो लाग्न नसकेपछि दुवै समूहको समझदारीमा उपाधिमाथि साझेदारी गर्ने सहमति गरिएको थियो । यसअघि शान्ति नमुनाका लागि शेखर पौडेल र न्यू होराइजनका लागि असोक थापाले १–१ गोल गरेका थिए ।
प्रतियोगितामा अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै होराइजन जि.वि.एस. तृतीय भएको छ भने अक्सफोर्ड मा.वि.ले चौथो स्थान हासिल गरेकोे प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा न्यू होराइजनका मिलन राना, उत्कृष्ट मिड फिल्डर होराइजन जिविएसका विष्णु पल्ली, उत्कृष्ट डिफेन्डर न्यू होराइजनका सुरज थापा, उत्कृष्ट गोल किपर शान्ति नमुनाका प्रकाश घिमिरे, अनुशासित खेलाडी न्यू होराइजनका मनोज सिल्वाल, उत्कृष्ट स्ट्राइकर शान्ति नमुनाका सुरज थापा क्षेत्री र टुर्नामेन्टकै सर्वोत्कृष्ट खेलाडी शान्ति नमुनाका पदम चौधरी घोषित भर्ई पुरस्कृत भएको शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
यस्तै फाइनल चरणका खेलमा शान्ति नमुनाका गोबिन्द थापा, न्यू होराइजनका असोक थापा र अक्सफोर्ड मा.वि. का सुशिल चौधरी म्यान अफ दि म्याच घोषित भई पुरष्कृत भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच भएको प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।
विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चाँपाई, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, तिलोत्तमा नगर कार्यपपालिका सदस्य रवि सेन्चुरी , पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।