चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

प्रकाशित मिति:

बुटवल । चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटि सो गरिएको छ । असोज ३० गते मंगलबार तिलोत्तमा स्थित मणिग्राम ४ नम्बरमा चलचित्र देखाइएको हो । विहान र दिउँसो गरि दुई पटक देखाइएको चलचित्र गुल्मेली दाई हेर्न स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । गुल्मेली दाइ हेरेपछि उपस्थित दर्शकहरुले चलचित्र सामाजिक कथामा उनेर बनाइएकाले राम्रो रहेको प्रतिक्रिया दिए । केशब गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा स्वयमं केशब गुरङ, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मीमगर लगायतको मूख्य अभिनय रहेको छ । तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायाँङ्कन गुल्मी जिल्लाको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउँहरुमा गरिएको निर्देशक केशब गुरुङले जानकारी दिनुभयो ।

चलचित्रमा अश्रिम गुरुङले सङ्गीत भर्नुभएको छ भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङले गर्नुभएको छ । मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन गर्नुभएको छ । चलचित्रको छायाँङ्कन तथा सम्पादन भने मनिष पन्थले गर्नुभएको हो । यसअघि गुल्मीका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकहरुद्वारा अत्यधिक रुचाइएको निर्माण पक्षको दावी छ । चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउँका कथा र सामग्रीहरु कलात्मक ढङ्गले पस्किएकाले मनोरञ्जन र सन्देशको खुराक रहेको उहाँहरुको भनाइ छ ।