कालीगण्डकीमा महायज्ञको समापन , आध्यात्मिक ज्ञानले शान्ति मिल्ने मन्त्री गुरुङको भनाइ

प्रकाशित मिति:

स्याङ्जा ।स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं। २ मा आयोजना गरिएको श्रीमद् देवी भागवत ज्ञान महायज्ञ तथा दुर्गा पांचायन प्राणप्रतिष्ठा कार्यक्रमको समापन गरिएको छ । हिन्दुधर्मको रक्षार्थ तथा अक्षयकोष स्थापनाको लागि ९ दिनसम्म महायज्ञ संचालन गरिएको हो ।कानून, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्को प्रमुख आतिथ्यतामा महायज्ञको समान गरिएको हो । नेपाली काँग्रेसका उपसभापति समेत रहनु भएका उहाँले आध्यात्मिक ज्ञानबाट नै शान्ति प्राप्त गर्न सकिने बताए ।

मन र मष्तिष्कलाई नियन्त्रणमा राख्न सके आफै भित्र शान्ति स्थापना गर्न सकिने बताउँदै उहाँले यसको लागि आध्यात्मिक चिन्तनको विकास मानिसमा हुनु पर्नेमा जोड दिए । मानिसमा आध्यात्मिक चिन्तनको विकास धार्मिक कार्य र प्रबचनबाट हुने मन्त्री गुरुङको भनाई छ । स्याङ्जा क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य समेत रहनु भएका मन्त्री गुरुङले आफुले चुनावमा गरेको प्रतिबद्धतताहरु पुरा गरेरै छाड्ने दाबी गरे । यस क्षेत्रका मतदाताले नै जिताएर प्रतिनिधिसभाको सदस्य हुँदै अहिले मन्त्री बनाएको बताउँदै गुरुङले सडक,खानेपानी समस्या पाँच वर्ष भित्रमा सामाधान हुने दाबी गर्नुभयो ।

यस्तै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले विर्घा, लसर्घा कोटाकोट हुँदै रुद्धबेणी र रानीघाट, आलमदेवी हुँदै कोटाकोट जोडीने सडक यस ठाउँको भविष्यसँग जोडिएकाले सडकको स्तरउन्नती र कालोपत्रेको आवश्यकता रहेको बताए । दुर्गा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनुपर्ने उनको भनाइ छ । वडादशैंको अवसरमा संचालन गरिएको महायज्ञमा करिब ३० लाख दान संकलन भएको समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेयले जानकारी दिए । संकलन भएको दानबाट मन्दिरको अक्षयकोष स्थापना हुने र मन्दिरमा नियमित रुपमा धार्मिक क्रियाकलाप संचालन गरिने बताए । आलमदेवी , वडहरकुन शिला , ट्याङलुङ शिलासँगै दुर्गा मन्दिरले यस क्षेत्रको धार्मिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले दाबी गर्नुभयो ।