शिक्षक सङ्घ तिलोत्तमाको नगर प्रतिनिधि सभा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा, पुस २१ । नेपाल शिक्षक सङ्घ तिलोत्तमा नगर समितिको नवौँ नगर प्रतिनिधिसभा शनिबार सम्पन्न भएको छ ।
नगर अध्यक्ष प्रचण्ड जि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिक्षण पेशा मर्यादित र सम्मानित पेशा रहेको भन्दै नगरलाई शैक्षिक गुणस्त्तरमा अब्बल बनाउन सदैव सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद लामिछानेले शिक्षकलाई संघीय सरकार मातहतमा रहने व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक संङ्घ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझीले शैक्षिक मुद्धामा वहस र पैरवी निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांगे्रस लुम्बिनी प्रदेश सचिव हिमबहादुर के.सी., नेपाल शिक्षक महासङ्घ रुपन्देहीका सचिव लीलाधर न्यौपाने, नेपाली कांग्रेस तिलोत्तमा नगर सचिव हुमलाल पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, शिक्षक संङ्घका जिल्ला सहसचिव जानकीदेवी पाण्डे तिवारी, नेपाल शिक्षक संङ्घ तिलोत्तमाका संस्थापक अध्यक्ष खेमराज पाण्डे, गौतम बुद्ध मा.वि.का प्रधानाध्यापक मृगेन्द्र प्रसाद रिजाल, पशुपति नमुना मा.वि.का प्रधानाध्यापक बेदनारायण भट्टराई लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतिनिधि सभाले सचिव दिनेश खड्काले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र अर्थ सचिव गुरुप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सोही अवसरमा विभिन्न तहमा रहेर दीर्घ सेवा गर्ने शिक्षक कर्मचारी, सेवा निवृत शिक्षक कर्मचारी, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरु, तिलोत्तमामा नव नियुक्त शिक्षक, सरुवा भई आउने र जाने शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अमर डि.सी.ले गर्नुभएको थियो भने सञ्चालन सचिव दिनेश खड्काले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार सीता राना र रितु थापाले सांगीतिक प्रस्तुती समेत राख्नुभएको थियो ।