‘बोलीलाई कार्यन्वन गर्न थारु समुदाय शासन र सत्तामा पुग्नुपर्ने’: मन्त्री चौधरी
कमल चौधरी कपिलवस्तु, ३ माघ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले थारु समुदाय शासन र सत्तामा पुग्नुपर्छ, भन्नुभयो । उहाँले कपिलबस्तुको हथौसमा मंगलबार आयोजित पाँचौ बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सवको समुद्घाटन कार्यक्रममा आफ्नो अधिकार र पहिचानको बारेमा बोलेर केही नहुने भन्दै बोलीलाई कार्यन्वन गर्न थारु समुदाय शासन र सत्तामा पुग्नुपर्नेमा जोड दिनुभएको हो । मन्त्री चौधरीले थारु समुदाय शासन र सत्ताको तहमा नपुगेको कारण कुनै पनि नीति निर्माण गर्ने तहमा थारु समुदायहरुको पहुँच नपुगेको औल्याउनुभयो ।
त्यस्तै उहाँले समय, परिवेश, समाज र राष्ट्र हामीले कहिल्यै बुझेनौं, केवल आफुहरुले जल, जमिन र जंगललाई प्रमुख प्राथमिकता मन्यौं, त्यही कारणले आज देशमा थारु समुदायको स्थिति सवैभन्दा कमजोर भएको जिकीर समेत गर्नुभयो । उहाँले–“हामीले कानुनी राज्यमा बस्यौं । सर्वपरी कानुन हो । कानुन भन्दमाथि केही छैन । भन्ने कुरा केवल जल, जमिन र जंगल भन्द–भन्दै आफुहरु बुझ्न नसकेको हो ।” बताउँनुभयो । उहाँले–“हाम्रो विरुद्ध कानुन निर्माण गरियो । कानुनी राज्य संचालन गर्ने शासकहरुलाई हामीले कृषि उत्पदान गर्दै पाल्यौं । तर उहाँहरुले हामी माथी शासन गर्दै आए । हामीलाई थाहाँ भएन । केवल हामीलाई जल, जमिन र जंगलमा मात्र भनिराख्यौं ।” भन्नुभयो ।
त्यस्तै उहाँले थारु समुदायको पक्षमा कानुन निर्माण नभए त पनि हरेक अन्दोलनमा थारुहरु शहिद हुन पुगे, कति बेपत्ता छन्, नेपालमा जहिले पनि परिवर्तन भएको छ, त्यसको प्रमुख नायक थारु जाति रहेको जिकिर गर्नुभयो । त्यस्तै मन्त्री चौधरीले थारु समुदाय सबैभन्दा पुरानो धर्तिपुत्र रहेको भन्दै दाक्षिण एसियाको सबैभन्दा पुरानो जाति नै थारु रहेको दावी समेत गर्नुभयो । उहाँले भन्नुभयो–“सबैभन्दा पुरानो जाति आहिले हामीहरु निकै कमजोर भएका छौं । हाम्रो बशंज सकिन थालेको छ । सिकेल सेलको शिकार भएका छौं । एउटै कारण हो हामी कानुनी राज्य र पुँजीबादी समाजमा बाँचेका छौं थाहा भएन ।”
उहाँले पुजिबादमा पैसाले काम गर्छ भन्दै, सोझो–सोझो भन्दै आफूहरुलाई ग्वाजे बनाएको अरोप लगाउदै सिकेल सेल लागेका हरेक विरामीलाई स्पस्ष्ट नीति निर्माणगरी राज्यले नै हेर्नुपर्नेमा जोड दिनुभयो त्यस्तै उहाँले अन्त्यमा थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नीतिगत रुपमा अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले थारू समुदायको विशेष पर्वको रुपमा माघी महोत्सव रहेको भन्दै थारू समुदायको संस्कृति र पहिचान देशको चिनारीको रुपमा रहेको बताउँनुभयो । उहाँले विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु समुदाय एक जुट भएर अधिकार र पहिचानको लागी लाग्नुपर्ने बताउँनुभयो । उहाँले थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणको लागि माघी पर्वले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । त्यस्तै बाणगंगा नगरपालिकाका प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले हरेक समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले–“थारु पराम्परालाई जगेर्नको लागी भाषा, संस्कार र संस्कृतिहरु लिपिबद्धगर्दै आगडी बढ्नुपर्छ । त्यसको लागि स्थानिय सरकार सहयकार्यगरी अगाडी बढ्ने छ ।” भन्नुभयो ।
त्यस्तै महोत्सव उद्घान कार्यक्रममा संविधान सभा सदस्य एंव थारू कल्याणकारिणी सभाका केन्द्रिय पार्षद विश्राम थारु, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, बाणगंगा नगरपालिकाका पूर्व नगर प्रमुख मंगल प्रसाद थारु, थारू कल्याणकारिणी सभा केन्द्रिय पार्षद जित बहादुर चौधरी, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष लेम गुरुङ्ग, थारू कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष पवन चौधरी, नेपाली कांग्रेसका नगर सभापति विष्णु थापा, वडा अध्यक्ष नरेन्द्र चौधरी, धुव्र नेपाल लगायतले सम्बोधन गर्दै मेला सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम माघी महोत्सव मूल संयोजक एंव थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष नाथुराम थारुको अध्यक्षता, उपाध्यक्ष ऋषिराम थारुको स्वागत तथा सचिव सृजना चौधरीको संचालनमा भएको थियो । ‘हम्मन राष्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मूल नाराको साथ सुरु भएको महोत्सव माघ २ देखि ४ गते सम्म चल्ने छ । माघी महोत्सवको पहिलो दिन माघी महोत्सव स्थल हथौसामा रक्तदान कार्यक्रम गरिएको थियो । थारु समुदायमा भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने मात्र नभएर नेपाली समाजमा सकारात्मक सन्देश दिने उद्देश्ले रक्तदान कार्यक्रम गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद उमाशंकर चौधरीले बताउनुभयो । रक्तदानमा ४३ पोइन्ट रगत संकलन भएको थियो ।
यस्तै थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिएको थियो । महोत्सवमा देलवा दौर प्रतियोगिता, थारु संस्कृति झल्कने झुमरा, झर्रा, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारको समेत प्रस्तुति रहने संस्कृति व्यवस्थापन समितिका संयोजक ऋषिराम थारुले बताउनुभयो ।